जिल्लाको बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनका लागि बाख्राको पाठी र कृषकलाई मकैको बीउ वितरण गरेको छ ।गाउँपालिकाले बन्दीपुर–१ का सात अपाङ्गता भएका व्यक्तिलाई मूल पूँजी बीउअन्तर्गत १-१ बाख्रा र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन मकैको बीउ वितरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपाङ्गता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएका छन् ।
न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपाङ्गता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिएका छन् ।लक्षित वर्ग कार्यक्रमअन्तर्गत मूल पूँजी बीउअनुरुप रु ७५ हजार बराबरको बाख्रा वितरण गरिएको हो ।
उनीहरुलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । गाउँपालिकाले शुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिकरूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताएका छन् ।
कृषकलाई मूल बीउ वितरण
जिल्लाको बन्दीपुर गाउँपालिकाले बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूलबीउ लागि वितरण गरेको हो ।गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिएका छन् । बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको हो । उनले भने, “मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।”
नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ गरिएको सो पालिकाले जनाएका छन् । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन् ।
यसैगरी तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको उनले जानकारी दिएका छन् । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको उनले बताएका छन् ।
गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेका छन् । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीका लागि पकेट क्षेत्र बनाउन प्रस्तावित गरेका हुन् । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको बताइएको छ ।