पत्रकारलाई यति बेला चुनाव लागेको छ । राजनीतिक चुनावमा रातदिन नभनी रिपोर्टिङमा रहने पत्रकार आजभोलि आफै चुनावमा होमिएका छन् । पत्रकार महासंघको चैत २५ गते हुने चुनावका लागि उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त छन् ।
उनीहरूले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । उम्मेदवार बनेकाहरू मात्रै होइन उम्मेदवारलाई समर्थन गर्नेहरू समेत मत माग्न व्यस्त छन् । पत्रकार मुद्दादेखि पत्रकारितामा सुधारसम्मका एजेन्डा उनीहरूसँग छन् । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका विषय अहिले एजेन्डा बनेका छन् ।
महासंघको आसन्न चुनावका लागि अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षसहित ५२ पदका लागि झन्डै दुई सय जनाको उम्मेदवारी परेको छ । यो देखिएको चुनावी माहौल हो ।
महासङ्घमा ५२ पदको लागि १९९ जनाको भिडन्त (सूचिसहित)
दलीय दलदलमा चुनाव
महासंघ पत्रकारहरूको साझा-छाता सङ्गठन हो । यसमा पुग्नका लागि पत्रकारहरूबिच राजनीति हुनु नयाँ विषय भएन । लोकतान्त्रिक प्रणालीमा नेतृत्वमा पुग्न जनमत प्राप्त हुनै पर्छ । माथि देखिएका उम्मेदवार त्यही पत्रकारहरूको जनमत लिन उम्मेदवार बनेका हुन् । यो अन्यथा हुँदै होइन । तर, उनीहरूको उम्मेदवारी कसरी आयो ? उम्मेदवार बन्न उनीहरूले के के गरे ? कसरी टिकट बाँडियो ? यसमा देखिएको खेल भने अत्यन्तै दुःखद छ ।
पाँचमध्ये दुई जना विशुद्ध राजनीतिक दलका नेताले टिकट दिएर उम्मेदवार बनेको विषय खुला नै छ । उनीहरूले टिकट लिन पार्टीभित्र गरेको संघर्ष चाहेर पनि लुकाउन सकिँदैन ।
दलीय सिन्डिकेटको बारेमा बोल्दै गजेन्द्र बुढाथोकी
सबैभन्दा पहिले हेरौँ कोको कसरी उम्मेदवार बने ? केन्द्रमा ठुला दुई राजनीतिक दलको नेतृत्वमा दुई वटा गठबन्धन बनेका छन् । काँग्रेस निकट प्रेस युनियनको नेतृत्वमा माओवादी केन्द्र र एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूहसहित ११ दलको गठबन्धन छ । अर्कोतर्फ ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीको नेतृत्वको प्यानल छ । जसमा राप्रपासहितका दलहरू छन् ।
युनियनवाला प्यानलको नेतृत्व विपुल पोखरेलले गरेका छन् । पोखरेल मोफसलको पत्रकारिता गरेर महाघसंको अध्यक्षको उम्मेदवार हुने पहिलो व्यक्ति हुन् । तर, उनी कसरी उम्मेदवार बने भन्ने कुरा यहाँ चर्चा योग्य र बहसको विषय हो ।
प्रेस युनियनमा सुरुमा अध्यक्षका आकाङ्क्षी कोको थिए ? उनी खासै चर्चामा थिएनन् । तर, आकाङ्क्षीहरूबिच सहमति नभएपछि उनलाई चिट्ठा पर्यो । सभापति शेरबहादुर देउवाको आर्सीवाद पाएपछि उनी अध्यक्ष लड्न योग्य भए । उनको उम्मेदवारीले युनियनमा विद्रोह समेत भयो । उनकै बागीका रूपमा युनियनकै रामप्रसाद दाहाल स्वतन्त्र उम्मेदवारी दिएका छन् । श्रमजीवी पत्रकारको मुद्दामा लड्ने फ्रन्टलाइनरतको रूपमा परिचित दाहाललाई पार्टीले टिकट नदिएपछि उनी विद्रोह गदै स्वतन्त्र उठे । गठबन्धनमा उनी विद्रोही बने । तर दलीय रूपमा टिकट नपाएपछि उनी बागी बनेको स्पष्ट छ ।
अर्को एमाले निकट प्रेस चौतारी नेतृत्वको प्यानलमा निर्मला शर्मा अध्यक्षको उम्मेदवार छन् । प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन भनिएको प्यानलबाट उनी उम्मेदवार बनेकी हुन् । उनी पनि दलकै छत्रछायामा गठबन्धनको उम्मेदवार बनेकी हुन् । यसबाहेक यस पटक केही दलीय सिन्डिकेटविरुद्ध पनि खडा भएका छन् । गजेन्द्र बुढाथोकीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पत्रकार महासंघको नेतृत्व व्यावसायिक पत्रकारले नै गर्नुपर्ने नारासहित उनले उम्मेदवारी दिएका हुन् । उनी दलीय सिन्डिकेट तोड्न भन्दै उम्मेदवार बनेका हुन् । त्यस्तै अर्को एक जना पनि अध्यक्षको उम्मेदवार छन् । दीपक पाठक ।
अब के गर्ने त ?
माथिका दृष्टान्तले महासंघको चुनाव दलीय दलदलमा फसेको स्पष्ट भयो । दलीय दलदलमा फसेको महासंघलाई निकाल्न सकिँदैन ? दलीय उम्मेदवारलाई बहिस्कार गर्ने त ? के उनीहरू सबै नराम्रा मान्छे हुन् ? अवश्य होइनन् । हामीले चर्चा गर्न खोजेको व्यक्तिभन्दा पनि प्रवृत्ति माथि हो । टिकट वितरण प्रणाली प्रति हो । दलको आर्सीवादले पत्रकारको नेता बन्ने प्रवृत्तिको हो । दलीय टिकट पाएका केही राम्रा उम्मेदवार पनि छन् । तर, उनीहरू आएको बाटो नै गलत हो भन्ने हाम्रो ठम्याई हो ।
लोकतान्त्रिक परिपाटीमा कोही पनि व्यक्ति राजनीतिक आस्थासँग नजिक रहन सक्छ, यसमा कसैले आपत्ति जनाउन सक्ने अवस्था हुँदैन । तर, जब एक जना पत्रकार कुनै अमुक राजनीतिक दलको सदस्य हुन थाल्छ, उसबाट कस्तो किसिमको निष्पक्ष र वस्तुनिष्ठ पत्रकारिताका अपेक्षा गर्न सकिन्छ?
व्यावसायिक पत्रकारिताको विकास भइसकेको परिवेशमा विभिन्न राजनीतिक दलहरूको आशीर्वाद लिएर उनीहरूको स्वार्थपूर्ति गर्न प्रतिबद्ध रहने शपथ ग्रहण गरेर पत्रकारिता गर्नेहरूबाट कस्तो पत्रकारिताको अपेक्षा गर्ने लगायतका कुरा सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।
यसै सिलसिलामा पत्रकारहरूको साझा सङ्गठनका रूपमा रहनु पर्ने नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि पनि तत्कालीन बल्खुदेखि अहिलेको बालुवाटार, धुम्बाराहीसम्म, सानेपादेखि पेरिस डाँडासम्म नेताको आर्सीवाद लिएर, तिनै राजनीतिक दलका नेताले घोषणा गरेका व्यक्ति पत्रकार महासंघको नेतृत्वमा जाने विकृति मौलाउँदै गएको छ । अमुक पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला र प्रदेश तहका कार्यसमितिका सदस्यसमेत पत्रकार महासंघको नेतृत्वकर्ताका रूपमा रहन थाले । आफू नेतृत्वमा पुग्नका लागि गैर पत्रकारलाई समेत सदस्यता बाँड्ने विकृति झन् झाङिएको छ ।
दलीय सिन्डिकेटको बारेमा बोल्दै राम प्रसाद दाहाल
अब वास्तविक श्रमजीवीको मर्म बुझ्ने पत्रकारलाई भोट दिनु पर्छ । पत्रकारको स्वतन्त्र र निर्भीक कलम आफैमा एउटा बलियो र सशक्त सङ्गठन हो । त्यसैले पत्रकारको नेता पत्रकार नै हुनुपर्छ । पत्रकारको नेता छान्ने अधिकार स्वयम् पत्रकारलाई नै दिनुपर्छ ।
दलीय सिन्डिकेट हटाउन भनेर अध्यक्षका दुई जना दाबेदार लागिपरेका छन् । गजेन्द्र बुढाथोकी र रामप्रसाद दाहाल । उनीहरू दुवैको एउटै बोली छ दलीय सिन्डिकेट अन्त्य गरेर पत्रकार महासंघलाई स्वतन्त्र पत्रकारहरूको संस्था बनाउने ।
संसारमा हरेक चिजका विकल्प छन् । महासंघको चुनावमा देखिएको दलीय सिन्डिकेट तोड्ने विकल्प नहुने कुरै भएन । दलको आर्सीवाद पाएर उम्मेदवार बनेकाहरूलाई बहिस्कार गर्दा हुन्छ । उनीहरूलाई मतदान नगर्दा हुन्छ । यसो गर्दा अर्को पटकको चुनावमा दलले टिकट दिने र लिने प्रवृत्ति नहुन सक्छ । पहिले पहिले गाउँदेखि नै दलीय सिन्डिकेट हुन्थ्यो ।
पार्षद् छान्दै दलका मान्छे आइपुग्थे । तर, अहिले अवस्था फरक छ । महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले यस पटकको निर्वाचन फरक समेत हुनेछ । महासङ्घका सबै सदस्य मतदाता छन् । निर्णायक उनीहरू नै हुन् । विवेक प्रयोग गर्ने उनीहरूले नै हो । पत्रकार र पत्रकारिताका पक्षमा विगतमा कोको उभिए ? व्यावसायिक पत्रकार को को हुन् ? आदि विभिन्न कुराहरू हेरेर मतदान गर्न सकिन्छ । यसबाट दलीय छत्रछायामा टिकट पाएकाहरू पाखा लाग्नेछन् । गैर पत्रकारहरू, राजनीति गर्न मात्रै चुनावमा उठ्नेहरूलाई पाठ सिकाउन सकिन्छ ।
यो केटिएम दैनिकको विशेष स्तम्भ हो । मिडिया, पत्रकार र यससँग सम्बन्धित विषयमा केन्द्रित यो स्तम्भ प्रत्येक साताको मङ्गलवार प्रकाशन हुनेछ । तपाइसँग पनि यस क्षेत्रका सूचनाहरू छन् र ती कुराहरू उजागर गर्न चाहनुहुन्छ भने हामीलाई फोन वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ । तपाईँले आफ्नो गोपनीयता कायम राख्न चाहनुहुन्छ भने पनि तपाइको गोपनीयता कायम गरिनेछ । एसएमएसको लागि 9851186993 र इमेलको लागि ktmdainikofficial{at}gmail.com