नेपाल पत्रकार महासङ्घको चैत २५ गते हुने केन्द्रीय कार्य समितिको निर्वाचनको लागि उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने समय थप गरिएपछि विरोध सुरु भएको छ ।
स्वतन्त्र पत्रकारहरुले दलिय सिन्डिकेटको दादागिरी अर्थात् ‘हुल अफ ल’को छाया पत्रकार महासङ्घको चुनावमा देखिएको बताएका छन् ।
उनीहरूले म्याद निख्रिएपछि कसैका लागि ढोका खुल्लै राखिराख्नु धाँधली भएको बताउँछन् । लेखक मिलन बगाले ट्विटरमा लेख्छन्
दलिय सिन्डिकेटको दादागिरी अर्थात ‘हुल अफ ल’को छायाँ पत्रकार महासंघको चुनावमा : सिन्डिकेटले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्न नसकेपछिको तमासा । निर्वाचन आयोगले कट्टेलको नेकपा दहाल—ओलीलाई कब्जा गर्न दिएजस्तै । म्याद निख्रिएपछि कसैका लागि ढोका खुल्लै राखिराख्नु धाँधली हो ।
केहीले भने यस्तो तमासाको साक्षी बन्नुभन्दा निर्वाचन कमिटीका सदस्यले राजीनामा दिए राम्रो हुने बताएका छन् । यसअघि निर्वाचन कमिटिले दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने समय तोकेको थियो । उक्त समय अवधिभित्र पत्रकार गजेन्द्र बुढाथोकीले नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका छन् ।
त्यस्तै ट्विटरमा नेपाल डायरी लेख्छ “३ बजे सम्म कसैको उम्मेदवारी दर्ता नभएको भए निर्वाचन कार्यविधि अनुसार समय थप्न सकिन्थ्यो होला , तर एक जनाको उम्मेदवारी दर्ता भएर पनि समय थप्नु चैँ संसारमा कतै हुँदैन होला ।”
अध्यक्षका उम्मेदवार बुढाथोकी ट्विटरमा लेख्छन् “दलीय सिन्डिकेटविरुद्ध पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएँ। वैधानिक रुपमा तोकिएको ३ बजेसम्म मेरोमात्र उम्मेदवारी परेको थियो। दलीय सिन्डिकेटको पक्षमा अचानक ६ बजेसम्म पुर्याए र दलीय सिन्डिकेटका उम्मेदवारहरू हुल बाँधेर ५:१५ मा आए, दर्ता ५:३० मा गरे।”