शुक्रबार एक्कासी काठमाडौं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले। धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो।
दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् ।
हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ । प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान-अवतरण प्रभावित बनेको हो ।
वातावरणविद्ले भने काठमाडौँ उपत्यकामा शुक्रबारदेखि मौसम स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्। ‘यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन।
निस्कनु परे मास्क लगाउनुपर्छ। बालबालिका र बृद्धबृद्धा तथा गम्भीर रोगका बिरामीहरुलाई यसले बढी असर गर्न सक्छ’, वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले भने।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स २९४ सम्म पुगेको थियो। अर्थात् शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो। काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो।
तस्विरमा हेर्नुहोस् दिउँसै रात परेजस्तो देखिएको काठमाडौं सिहदरबार आसपासका क्षेत्रहरु