भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक महिलाको मृत्यु भएको छ।
मृतक महिला छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन्। मोटरसाइकल चालक भने सकुशल रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो।
टिपरको ठक्करले घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
टिपर आतंक : झापामा भयानक दुर्घटना, एकको निधन ४ घाइते
झापाको दमकमा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका–४ चिया बगान नजिकै शनिबार बेलुकी साढे ५ बजे दुर्घटना भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ गइरहेको को २८ प ११३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोरङ रतुवामाई नगरपालिका–८ का २४ वर्षीय अनीश कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते कोइरालाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।