नेपालका पत्रकारहरूको हकहित संरक्षणका लागि २००८ सालमा स्थापना भएको नेपाल पत्रकार सङ्घ, आफ्नो भूमिका र दायरा फैलाउँदै महासङ्घ बनेको पनि लामो समय व्यतीत भइसकेको छ । नाम र भूमिकाका कारण यस संस्थाको आफ्नो छुट्टै भूमिका र ओज रहनु पर्नेमा पछिल्ला केही वर्षयता श्रमजीवी र पेसाकर्मी पत्रकारहरूले महासङ्घ छ कि छैन भन्ने अवस्था आएको छ ।
दशकौँदेखि व्यावसायिक (प्रोफेसनल) पत्रकारितामा संलग्न थुप्रै अग्रज र पेसाकर्मी पत्रकारहरूले आफ्नो सदस्यता नै नवीकरण गरेको विडम्बनापूर्ण अवस्था छ, थुप्रै पत्रकारले महासङ्घको सदस्यता नै लिन्न भनेर बसेको अवस्था छ । आखिर यो अवस्था कसरी आयो?
२०४६ सालको परिवर्तनपछि राजनीतिक दल खुले र तिनका विभिन्न पेसा र क्षेत्रमा भातृ सङ्गठन पनि खुल्न थाले । यो हावाले पत्रकारितालाई पनि छाडेन । एमाले र काँग्रेसले आफ्ना भातृ सङ्गठनका रूपमा पत्रकारको पनि सङ्गठन पनि बनाए, एक दशक लामो सशस्त्र विद्रोह गरेको माओवादी पनि के कम? उसले पनि अर्को सङ्गठन थप्यो ।
पूर्वपञ्चेहरूको पार्टी राप्रपादेखि मदेसवादी दलहरूले समेत पत्रकारका भातृ सङ्गठन बनाए । लोकतान्त्रिक परिपाटीमा कोही पनि व्यक्ति राजनीतिक आस्थासँग नजिक रहन सक्छ, यसमा कसैले आपत्ति जनाउन सक्ने अवस्था हुँदैन । तर, जब एक जना पत्रकार कुनै अमुक राजनीतिक दलको सदस्य हुन थाल्छ, उसबाट कस्तो किसिमको निष्पक्ष र वस्तुनिष्ठ पत्रकारिताका अपेक्षा गर्न सकिन्छ? हो, २०१७ देखि २०४६ सालसम्म पञ्चायतकालीन पृष्ठभूमिमा पत्रकारिता गर्न कठिन थियो, त्यो बेला मिसन पत्रकारिता नगरी पत्रपत्रिका पनि बाँच् नसक्ने अवस्था थिएन ।
तर व्यावसायिक पत्रकारिताको विकास भइसकेको परिवेशमा सानेपामा आशीर्वाद लिएर, बालुवाटार र पेरिस डाँडामा मुठ्ठी उजाएर पार्टीको जन वर्गीय सङ्गठनप्रति प्रतिबद्ध रहने शपथ ग्रहण गरेर पत्रकारिता गर्नेहरूबाट कस्तो पत्रकारिताको अपेक्षा गर्ने?
विभिन्न नाम र बहानामा देशभरिका पत्रकारहरू सङ्कटमा पर्दासमेत महासङ्घले एकीकृत रूपमा लबिङ गर्नु, पत्रकारका पेसागत र सामाजिक सुरक्षा गर्नुभन्दा पदमा पुगेपछि आफू पत्रकारको ‘राजा/महाराज’ हुँ भन्ने दम्भ देखाउने प्रवृत्ति पनि झाँगियो, किनकि, पदमा पुग्न दलबाट आर्सीवाद प्राप्त छँदै छ ।
यसै सिलसिलामा पत्रकारहरूको साझा सङ्गठनका रूपमा रहनु पर्ने नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पुग्नका लागि पनि तत्कालीन बल्खुदेखि अहिलेको बालुवाटार, धुम्बाराहीसम्म, सानेपादेखि पेरिस डाँडासम्म नेताको आर्सीवाद लिएर, तिनै राजनीतिक दलका नेताले घोषणा गरेका व्यक्ति पत्रकार महासङ्घको नेतृत्वमा जाने विकृति मौलाउँदै गयो ।
अमुक पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला र प्रदेश तहका कार्यसमितिका सदस्यसमेत पत्रकार महासङ्घको नेतृत्वकर्ताका रूपमा रहन थाले । आफू नेतृत्वमा पुग्नका लागि गैर पत्रकारलाई समेत सदस्यता बाँड्ने विकृति झन् झाङियो ।
विभिन्न नाम र बहानामा देशभरिका पत्रकारहरू सङ्कटमा पर्दासमेत महासङ्घले एकीकृत रूपमा लबिङ गर्नु, पत्रकारका पेसागत र सामाजिक सुरक्षा गर्नुभन्दा पदमा पुगेपछि आफू पत्रकारको ‘राजा/महाराज’ हुँ भन्ने दम्भ देखाउने प्रवृत्ति पनि झाँगियो, किनकि, पदमा पुग्न दलबाट आर्सीवाद प्राप्त छँदै छ ।
यो विकृतिका विरुद्ध दशकौँदेखि अग्रजहरूदेखि थुप्रै पेसाकर्मी साथीहरू लड्दै आउनु भयो, तर दलीय सिन्डिकेटविरुद्धको लडाइँमा वास्तविक पेसाकर्मी पत्रकारहरू कमजोर रहनु भयो, तर सधैँ त्यो अवस्था रहने वाला छैन । देशभरि भएका वास्तविक श्रमजीवी, पेसाकर्मीहरू यति बेला सङ्गठित रूपमा आवाज उठाउन सक्ने अवस्थामा हुनुहुन्छ ।
खागसरि कोरोना जनित सङ्कटका नाममा गत चैतपछि जब देशभरिका करिब ३५०० पत्रकारहरूको पेसा, रोजगारी र व्यवसाय सङ्कटमा प¥यो, त्यसपछि वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारको नेतृत्व, जसले श्रमजीवी र साना लगानीका मिडियाको वास्तविक पीडा र सङ्कट बुझेको छ, यस्तो नेतृत्वको खाँचो झनै महसुस गरियो । देशभरिकै अग्रज तथा सहकर्मी÷सहधर्मी पत्रकार साथीहरूको यो भावनालाई प्रतिनिधित्व गर्दै यस पटक मैले पत्रकार महासङ्घको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
सबै श्रमजीवी, पेसाकर्मी अग्रज तथा सहकर्मी÷सहधर्मी पत्रकार मित्रहरूले पत्रकार महासङ्घमा दशकौँदेखि कायम रहँदै आएको दलीय सिन्डिकेट तोड्नका लागि साथ दिन विनम्र आग्रह र अपिल गर्दछु । र, यसका लागि आवश्यक परे देशभरि कुनै पनि राजनीतिक दलका भातृ सङ्गठनमा नरहनु भएका वा बाध्यताका कारण रहे पनि छाड्न चाहनु भएका श्रमजीवी, पेसाकर्मी सञ्चारकर्मी साथीहरूलाई ‘स्वतन्त्र पत्रकार अलाइन्स’ नेतृत्व लिन र गोलबद्ध पनि आग्रह गर्दछु ।
मेरोबारे
म २०५२ सालदेखि निरन्तर पत्रकारितामा संलग्न रहँदै २०५३ सालबाट नेपाल पत्रकार महासङ्घको सदस्य रहँदै आएको छु । उदयपुरबाट सुरुबाट भएको मेरो पत्रकारिता यात्रा, लोक पत्र दैनिक, नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिक, कारोबार दैनिक, दैनिकी.कम, न्युज कारोबार.कम हुँदै हाल टक्सार मिडिया ग्रुपसँग सम्बन्धित रहेको छु । करिब साढे दुई दशकको पत्रकारिता यात्रामा मैले राष्ट्रिय स्तरमा प्रेस काउन्सिल नेपाल, गरिबी निवारण कोष, रोटरी इन्टरनेसनलदेखि नेपाल सरकारबाट ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ लगायत अन्तर्राष्ट्रिय स्तरमा एसियन डेभलपमेन्ट बैङ्क इन्स्टिच्युट जापानबाट ‘डेभलपिङ एसिया जर्नालिजम अवार्ड’ समेत प्राप्त गरिसकेको छु ।
मेरा प्रतिबद्धताहरू
१. नेपाल पत्रकार महासङ्घलाई दलीय सिन्डिकेटबाट मुक्त गरी सही अर्थमा वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारहरूको सङ्गठन बनाउने ।
२. विभिन्न नाम र बहानामा रोजगारी र पेसाबाट विमुख गराइएका सञ्चारकर्मीहरूको हक अधिकार पुनर्स्थापित गर्न महासङ्घमार्फत ट्रेड युनियन पद्धति अनुकरण गर्दै दबाब सिर्जना गर्ने, पहल गर्ने÷गराउने । गैर कानुनी, गैर न्यायोचित ढङ्गले सञ्चारकर्मीलाई सेवाबाट निष्कासन गर्ने सञ्चार गृहमाथि कारबाहीका लागि सरकारमाथि दबाब सिर्जना गर्ने ।
३. श्रमजीवी पत्रकार ऐन अनिवार्य रूपमा लागू गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्ने
४. हरेक श्रमजीवी, पेसाकर्मी सञ्चारकर्मीको पेसागत र सामाजिक सुरक्षाका लागि महासङ्घ आफैले र सरकार तथा सञ्चार गृह सञ्चालकहरूमार्फत उचित व्यवस्थापन गर्न÷गराउन पहल गर्ने
५. विभिन्न कारणले अशक्तता, बिमारी वा अन्य सङ्कट बेहोर्नु परेका सञ्चारकर्मी, पेसागत जीवनमा सक्रिय रहँदा रहँदै विभिन्न कारणले जीवन गुमाउनु परेका सञ्चारकर्मीको परिवारको आर्थिक सुरक्षा, जीवन वृत्तिका लागि आफैले र सरकार तथा सञ्चार गृह सञ्चालकहरूमार्फत उचित व्यवस्थापन गर्न÷गराउन पहल गर्ने
६. पत्रकार महासङ्घलाई स्वच्छ, निष्पक्ष र पारदर्शी तथा सबैको पहुँचयुक्त बनाउने
७. साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चार गृह, सञ्चार सामग्री उत्पादन कम्पनी आदिलाई बचाउनका लागि महासंघमार्फत् उचित नीतिगत र व्यवस्थापकीय लबिङ गर्ने
८. पत्रकारिता पेसामा आबद्ध भइसकेपछि पेसागत क्षमता वृद्धिका लागि देशव्यापी रूपमा मध्य करिअर सीप अभिवृद्धि तालिम÷प्रशिक्षण अगाडि बढाउने
९. महासङ्घको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्ने गराउने
१०. नेपाल मिडिया संग्राहलय स्थापना गरी, पत्रकारिताको इतिहास, अग्रज पत्रकारहरूको इतिहास र पत्रकारिताको धरोहरको संरक्षण गर्ने