ट्रमा सेन्टरमा कार्यरत १७ जना महिलाहरू काम बाट निकालिएका छन् । सरसफाइ विभागमा कार्यरत महिलाहरू कामबाट निकालिएका हुन् । अस्पताल सञ्चालन भएदेखि नै काममा खटिएका महिलाहरू कामबाट निकालेपछि बेरोजगार बनेका छन् ।
नमस्ते गार्डेन कन्सल्टेन्सी प्रालिको माध्यमबाट काममा जोडिएका उनीहरू टेन्डर इनोभेटिभ एचआर सोलुसन नामक कम्पनीले पाएपछि निकालिएका हुन् ।
टेन्डर अर्कै कम्पनीको नाममा परेपछि अन्तर्वार्ताको प्रकियाबाट महिला कर्मचारीहरूलाई काम लगाउने सहमति भएको थियो । कम्पनीले अन्तर्वार्तामा अनावश्यक प्रश्न सोधेर कामबाट निकालेको उनीहरूको आरोप छ ।
बेलुका ६ बजेर ३० मिनेटदेखि सुरु भएको अन्तर्वार्तामा तपाईँहरूको उमेर कति भयो, बालबच्चा कति छन्, यति मोटा मान्छेले पनि काम गर्न सक्छन् र ? घरमा छोराछोरी खेलाएर बस्नु नि लगायतको अनावश्यक प्रश्न सोधेर आफूहरूलाई कामबाट निकालेको उनीहरूले केटिएम दैनिकलाई बताए ।
उनीहरूलाई काममा लगाए बापत नियुक्त्ति तथा परिचयपत्र पनि नदिएको पीडित महिलाहरूले गुनासो गरे । कोरोनाको बेला कामबाट निस्किन पाइँदैन भनेर सूचना जारी गरेको ट्रमा सेन्टरले आफूलाई अन्याय पर्दा नबोलेको पीडित महिलाहरूको गुनासो छ ।
के भन्छन् पीडित महिला ?
आफूहरू लामो समयदेखि यही अस्पतालमा काम गरी आएको र एक्कासि यसरी निस्कनु पर्दा अत्यन्तै दुखित भएको उनीहरू बताउँछन् । बेरोजगार बनेकी उमादेवी पराजुली भन्छिन्, ‘म २०७३ सालदेखि काम गर्दै आएको छु । कोरोनाको बेला हामीलाई काम बाट निस्कन पाइँदैन भनेर उर्दी जारी गरेको ट्रमा सेन्टर अहिले किन चुप लागेर बसेको छ । कोरोनाको बेलामा हामीले भोगेको पीडा अरूले महसुस गर्न सक्छ ?’
हामीले गल्ती गरेको भए हामी हाँसी हाँसी निस्कन्थ्यौ तर ४ वर्षसम्म काम गर्दा कुनै दिन पनि कम्प्लेनमा नपरेको हामी एकाएक निस्कनु पर्दा दुख लागेको छ । कान्छी माया श्रेष्ठले भनिन् । ‘हाम्रो कुनै गल्ती या खोट भएको भए हामीलाई निकाल्दा हुन्थ्यो, तर हामीलाई खबर नै नगरी बिना कारण निकाल्दा हामीलाई दु:ख लागेको छ ।
कोरोना कालमा हामीले धेरै दु:ख पायौँ । घरबेटीले अस्पताल छोड कि घर छोड भनेर दबाब दिए, हामीले के गर्ने ? घर छाडौँ कहाँ गएर बस्नु, अस्पताल छाडौँ बच्चालाई कसरी खुवाउनु ? हामीले अस्पतालमा काम गरेकै कारण हाम्रो बच्चाहरूले पसलमा अपमानित हुनुपरेको छ । तेरो आमाले अस्पतालबाट कोरोना लिएर आएको होला पर जा भनेर पसलले भन्दा हाम्रो सन्तानले कस्तो महसुस गरे होला ।
लक्ष्मी तामाङले भनिन्, ‘हामीसँग पैसा भएको भए, हामी ट्वाइलेट सफा गर्न, भुईँ पुछ्न किन आउँथ्यौ र ? हाम्रो भविष्य यस्तै भयो, छोराछोरीको भविष्य उज्ज्वल हुन्छ कि भनेर हामी अस्पतालमा काम गर्न आएका हौँ । अब हामीले के गर्ने ? कसरी खाने ?’
कानुनमा के छ ?
नेपाल सरकारको श्रम ऐन २०७४ को दफा ११ को अनुसार कुनै पनि कर्मचारीलाई रोजगार सम्झौता नगरी काममा लगाउन नहुने नियम रहेको छ । तर नमस्ते गार्डेन कन्सल्टेन्सी प्रालिले उनीहरूलाई कुनै नियुक्ति पत्र दिएको छैन ।त्यस्तै दफा १४ को उपदफा १ का अनुसार स्वामित्व परिवर्तन भएमा पनि रोजगार सम्बन्ध कायमै रहने व्यवस्था रहेको छ ।
उक्त उपदफा अनुसार, ‘कुनै रोजगारदाताको काम वा व्यवसाय वा सोको कुनै भाग कानुन बमोजिम स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरू कसैलाई दिएमा वा दुई वा दुईभन्दा बढी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभिई नयाँ प्रतिष्ठान वा व्यवसाय सिर्जना भएमा त्यसरी स्वामित्व परिवर्तन वा हस्तान्तरण भएको वा सञ्चालन गर्न कसैलाई दिइएको काम वा व्यवसाय वा गाभिएको प्रतिष्ठान वा व्यवसायमा कार्यरत श्रमिकको रोजगार सम्बन्ध कायम रही रहनेछ।’
वरिष्ठ अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘२ सय ४० दिन काम गरेका मजदुरहरूलाई नियुक्त्तिपत्र अनिवार्य रूपमा दिनुपर्छ ।’ उनीहरूलाई नियुक्त र परिचयपत्र नदिने कम्पनीको कमजोरी हो । यस्तो कुरामा हामी आफै पनि सचेत हुनु पर्छ । उनले पीडित महिलाहरूलाई भने, ‘यो पटक नियुक्त नमागेर गल्ती गर्नुभयो । अबको दिनहरूमा अन्य ठाउँमा जागिर खान जाँदा पनि नियुक्तिपत्र माग्नुहोस् ।’ म मेरो तर्फबाट सक्ने सहयोग तपाईँहरूलाई गर्छु, त्यस्तो लागि तपाईँहरू पनि सक्रिय हुनुपर्छ । आफ्नो एकतालाई कायम गरेर राख्नुपर्छ ।’
त्यस्तै क्लिन मास्टर्स प्रा.लि.का अध्यक्ष लक्ष्मण भण्डारी त्यसरी महिलाहरूलाई रोजगारीबाट हटाउनु गलत भएको बताउँछन् । उनी भन्छन्,’लकडाउन अगाडी हामीसँग ७२ जना दिदीहरू हुनुहुन्थ्यो । १०४ ओटा स्टेसनमा काम गर्थिम तर लकडाउन पछि हामीसँग भएको सम्झौता सकियो तर हामीले ७२ जना दिदीहरूलाई काममा नै लगायौँ । हामीले टेन्डर पाएपछि पनि त्यहाँ कार्यरत कर्मचारीहरूलाई सोध्ने गरेका छौँ । त्यहाँ काम गर्नुभएको दिदीहरू अनुभवी हुनुहुन्छ त्यसैले उहाँहरूसँग काम गर्न हामीलाई सहज हुन्छ । जुनसुकै कम्पनीलाई टेन्डर परे पनि त्यहाँ काम गरिरहेको कर्मचारीहरूलाई निकाल्नु गलत हो ।’
बेरोजगार बनेका महिलाहरूको आफ्नो आफ्नै समस्या रहेको छ । कोही श्रीमानबाट पीडित छन् त केहीको श्रीमान् असक्त समेत रहेका छन् । उनीहरूले त्यही अस्पतालमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । पत्रकार/साहित्यकार तथा महिला अधिकारकर्मी शकुन्तला जोशी भन्छिन्,’अन्तर्वार्ता लिने क्रममा उनीहरूमाथि गरिएको प्रश्न खेदजनक छ । त्यहाँ उनीहरूको पर्सनल लाइफ भन्दा पनि प्रोफेसनल लाइफको बारेमा कुरा सोध्नु पर्थ्यो । कसको बुढा के गर्छन्, कसले नातिनातिना खेलाएर बस्नु पर्ने, त्यो उनीहरूको व्यक्तिगत मामिला हो । त्यस्तो कुरा सोधेर कम्पनीले आफ्नो साख आफै गिराउने काम गर्यौँ ।’
नेपाल सुरक्षा श्रमिक सङ्गठन बागमती प्रदेशको इन्चार्ज बिपी हुमागाईँले केटिएम दैनिकसँग कुराकानी गर्दै भने, ‘विगत २ वर्षदेखि त्यहाँ कार्यरत सरसफाइ कर्मचारीहरू पीडामा थिए । उनीहरूलाई समयमा तलब नदिने, ४ महिनादेखि तलब रोक्का गर्ने लगायतका समस्या थिए ।’
पछि कम्पनी परिवर्तन भएपछि नयाँ कम्पनीले आफू अनुकूलमा मान्छे राख्न थाल्यो । यसबारेमा पटक पटक वार्ता र छलफल भए पनि यसको समस्या समाधान हुन नसकेको उनी बताउँछन् । नयाँ नयाँ श्रमिकहरू ल्याउने र न्यूनतम पारिश्रमिकमा लगाउने र श्रमिकलाई दमन गर्ने नीति एचआर सोलुसनको देखिएको उनले बताए ।
उनले भने, ‘भोलिका दिनमा कामबाट निकालिएका कर्मचारीहरूले बालबच्चा सहित खोलामा हाम फाले वा अन्य त्यस्तै काम गरे भने त्यसको जिम्मेवारी कसले लिने । पुरानो ठेकदार मैले त छाडिसके भनेर पन्छिन्छ । ७-८ वर्षदेखि उनीहरूलाई काममा लगाउने र अहिले आएर उनीहरूलाई बेहालत बनेर छाड्नु त भएन । नयाँ ठेकदार यी त मेरा श्रमिक नै होइनन् भने पन्छिने । अहिले त्रिभुवन विमानस्थलमा पनि यस्तै प्रकारको घटना भइरहेको बताउँदै हुमागाईँ भन्छन् त्यहाँ पनि श्रमिक आपूर्ति गर्ने जिम्मा एचआर सोलुसनले नै पाएको छ ।’
श्रमजीवी पत्रकारको हक र हितका लागि लडेका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा पत्रकार जन्मदेव जैसी बेरोजगार महिलाहरूले रोजगार पाउनुपर्ने कुरामा जोड दिन्छन् । उनी भन्छन्, अहिलेको श्रम ऐनहरूलाई परिमार्जित गरेर श्रमजीवीहरूको पेसागत अधिकारको लागि विशेष गरी महिला मजदुरहरूको पेसागत अधिकारलाई ग्यारेन्टी गर्ने खालको बनाउनु पर्छ । कुनै पनि बाहिरका कम्पनीहरूबाट सम्झौता गर्दा नेपालको प्रचलित ट्रेड युनियनहरूलाई कुल्चिने प्रवृत्ति मौलाएको छ । कमिसनको लोभमा कामदार निकाल्ने र राख्ने पक्रियालाई रोक्नको लागि सरकारलगायत विभिन्न निकायहरूले साथ दिनु पर्छ ।’
ट्रमा सेन्टरमा सरसफाइको टेन्डर पाएको इनोभेटिभ एचआर सोलुसन प्रालिसँग केटिएम दैनिकले सम्पर्क गरेको छ । उक्त कम्पनीका डेप्युटी म्यानेजिङ डाइरेक्टर चेतराज पोखरेलले हामीसँगको कुराकानीमा उनीहरूलाई फेरी ट्रमा सेन्टर नराख्ने बताए । विगत ७-८ वर्षदेखि वर्षदेखि काम गरेका कर्मचारीलाई किन निकाल्नु भयो त भन्ने हाम्रो प्रश्नमा पोखरेले भन्छन् “ट्रमा सेन्टरमा क्वालिफाइड कामदार चाहिएको हुनाले हामीले अन्तरवार्ता लिएर अनक्वालिफाइड कर्मचारीलाई निकालेको हो ।”
अन्तरवार्ताको क्रममा कामको बारेमा प्रश्न गर्नुपर्ने ठाउँमा तपाईँको श्रीमान् के गर्छ ? अब उमेर भयो नाति नातिनी खेलाएर बस्नुहोस् भन्ने असान्दर्भिक प्रश्नहरू पनि सोध्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा पोखरेलले त्यस्ता प्रश्न सोधेको स्विकार्दै भने । अन्तरवार्ता लिने ५ जनामध्ये कसैले उहाँहरूको राय बुझ्नको लागि त्यस्ता प्रश्नहरूको सोधेका हुन सक्छन् । तर यसलाई अन्यथा लिन मिल्दैन ।
कामबाट निकालिएका १७ जना महिलाहरू ट्रमा सेन्टरमै काम गर्ने अन्त नजाने बताइरहेका छन् भने जनशक्ति व्यवस्थापन गर्ने ठेक्का पाएको एचआर सोलुसन प्रा.लि. भने कुनै पनि हालतमा उनीहरूलाई त्यहाँ नराख्ने मनस्थितिमा पुगेको छ ।
यस विषयमा यस अगाडी ट्रमा सेन्टरमा ठेक्का पाएको नमस्ते गार्डेनिङ्ग कन्सल्टेन्सी प्रालिका अध्यक्ष तेज प्रसाद घिमिरेसँग कुराकानी गर्न खोज्दा उनी खासै बोल्न चाहेनन् । हामीसँगको टेलिफोन सम्पर्कमा घिमिरेले भने मेरो कम्पनी र ट्रमा सेन्टरको ठेक्का रद्द भैसकेको छ । यसबारे म केही बोल्दिन । तपाईँहरू ट्रमा सेन्टरमै बुझ्नुहोस् ।
हेर्नुहोस भिडियो