कहिले प्रधानमन्त्री बन्न हतार गर्ने त कहिले प्रतिपक्ष निर्वाह गर्नु नै पार्टीको भूमिका हो भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिवार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।
‘म प्रधानमन्त्री हुने रेसमै छैन। प्रधानमन्त्री हुन चाहेको पनि छैन’, सभापति देउवाले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।’ उनले देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न आग्रह गरे। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै समूहले सभापति देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सभापति देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताए। उनले अहिले आफूहरूले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसद्मा उनीहरूको प्रस्तुतिपछि मात्रै काँग्रेसले के गर्छ भन्ने बारेमा निर्णय गर्ने बताए। ‘संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन्, काँग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ’, उनले थपे। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि फागुन २३ गतेका लागि संसद् बैठक डाकिएको छ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे पनि काँग्रेस भने ‘पर्ख र हेर’को रणनीति अख्तियार गरिरहेका छ। शुक्रवार बसेको काँग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रधानमन्त्री ओलीको विपक्षमा लाग्नुपर्ने मत राखेका थिए।
पुस्तक विमोचन कार्यक्रम देउवा निवास बुढानीलकण्ठमा आयोजना गरिएको थियो ।