‘एकीकृत जनक्रान्ति’ का लागि हतियार उठाउने घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका छन् । २ वर्षयता गुमनामझैँ भएका विप्लव शुक्रवार (आज) दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिँदै छन् ।
मुलुक राजनीतिक सङ्कटमा रहेका बेला विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण मार्गमा आउनुलाई धेरैले स्वागत गरेका छन् । एकीकृत क्रान्ति गर्ने उद्घोष गर्दै २६ कात्तिक ०७१ बाट फरक पार्टी गठनमा जुटेका थिए । विप्लवले १ फागुन ०७३ मा काठमाडौँको खुलामञ्चमा उद्घाटन गरेर ७ गतेदेखि रोल्पाको थवाङमा महाधिवेशन गरेका थिए । त्यस महाधिवेशनबाट विप्लव महासचिव भए । त्यही महाधिवेशनले एकीकृत जनक्रान्तिको प्रतिवेदन पारित गर्यो ।
उनले मूलधारको माओवादी त्यागेको लगभग ८ वर्ष भयो । एक्लैले माओवादी आन्दोलन अघि बढाउँछु भनेको पनि ४ वर्ष भइसक्यो । अहिले उनी कता पुगे? सुरुवातमा जुन मुद्दा उठाएर क्रान्तिको बिगुल फुक्दै थिए त्यही पुगेका छन् । प्रतिबन्ध फुकुवा, कार्यकर्ता रिहाइ, मुद्दा फिर्ता बाहेक कुनै ठ्रलो राजनीतिक उपलब्धि प्राप्त केही भएन । उनी क्रान्तिको नाममा ८ वर्ष कुदे । चार वर्ष त आफ्नै नेतृत्वमा पनि कुदे । तर अहिले आएर त्यही चार वर्षअघिको अवस्थामा फर्केका छन् ।
महाधिवेशन यताका ४ वर्षमा विप्लव नेतृत्वको नेकपाले महँगी, मूल्यवृद्धि, अवैध बजारीकरण, भ्रष्टाचारलगायत नियन्त्रण हुनुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएको थियो । संसदीय व्यवस्था नै काम नलाग्ने भइसकेको भन्दै एकीकृत जनक्रान्तिमा लागेका विप्लवले चुनावलाई सशक्त बहिस्कार गरे ।
दूरसञ्चार कम्पनी जनसेनका टावरहरूमाथि विस्फोटन गराए । नख्खुस्थित एनसेलको मुख्यालय परिसरमा बम विस्फोटनमा एक जना पूर्व ब्रिटिस आर्मीको मृत्यु भयो । त्यति मात्रै होइन सुकेधारा, घट्टेकुलो र चन्द्रागिरीमा भएका विस्फोटनमा चार जना कार्यकर्ताको ज्यान गयो भने आठ जना घाइते भए । कैलालीमा समेत यस्तै भयो । ५ असार २०७६ मा सर्लाहीको लालबन्दी-१, लखनीखोलामा प्रहरीले जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गर्यो । भोजपुरमा २५ असारमा प्रहरी जवान सञ्जीव राई र विप्लव कार्यकर्ता निरकुमार राईबिच गोली हानाहान हुँदा दुवैको ज्यान गयो ।
अर्को घटनामा गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भयो । २३ मङ्सिर २०७७ मा मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको बीभत्स हत्या । विप्लवको अघोषित क्रान्तिमा एक दर्जन बढीले ज्यान गुमाइसकेका छन् । क्षतिको विवरण अझै लामो हुनसक्छ ।
उनका हजारौँ कार्यकर्ता पक्राउ परे । केही अझै थुनामै छन् । हजारौँलाई मुद्दा लगाइएको छ । अहिले उनी एकीकृत जनक्रान्तिलाई अधकल्चो छाडेर शान्तिपूर्ण राजनीतिक मैदानमा अवतरण भएका छन् ।
तीन बुँदे सहमतिपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरेको छ । सहमतिअनुसार विप्लव नेकपाका नेता – कार्यकर्तामाथि लगाएका मुद्दा सरकारले फिर्ता गर्ने, थुनामा रहेका नेता कार्यकर्तालाई रिहा गर्ने भएको छ। विप्लवले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्नेछ। २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपाले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
वार्ता बारे धेरै कुरा त प्रस्ट भइसकेको छैन । उनले उठाउँदै आएका राजनीतिक मुद्दा अब कसरी अगाडि बढ्छन् ? के उनी संसदीय व्यवस्था मान्न तयार भएका हुन् ? अब आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्नेछ । राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने प्रतिबद्धता छ ।
यहीनिर केही कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । यो अवस्था त पहिले नै छँदै थियो नि । यसका लागि भूमिगत, प्रतिबन्ध, एक दर्जनको मृत्यु यो सबै आवश्यक थियो र ? प्रश्न स्वाभाविक छ । संसदीय राजनीति गरिरहेकै दलसँग सहकार्य गर्ने भए प्रतिबन्धको दुई वर्ष खेर गएन ?
विप्लवका एक कार्यकर्ता भन्छन्, अहिले चर्चा भइरहेकै राजनीति अब विप्लवले गर्ने हो भने दुई होइन राजनीति चार वर्षअघि फर्केको छ । जति बेला उनले पार्टी बनाएका थिए । तर आफूलाई त्यो नलागेको उनको भनाइ छ । विप्लवले संसदीय राजनीति नमान्ने, संसदबादी दलहरूसँग सहकार्य नगर्ने उनले विश्वास व्यक्त गरे । संसदीय राजनीति स्विकार्दा अहिले ओली र प्रचण्ड–देउवाको शैली स्विकार्नुपर्छ । तर त्यस्तो नहुने उनको भनाइ छ ।
उनले मूलधारको माओवादी त्यागेको लगभग ८ वर्ष भयो । एक्लैले माओवादी आन्दोलन अघि बढाउँछु भनेको पनि ४ वर्ष भइसक्यो । अहिले उनी कता पुगे? सुरुवातमा जुन मुद्दा उठाएर क्रान्तिको बिगुल फुक्दै थिए त्यही पुगेका छन् । प्रतिबन्ध फुकुवा, कार्यकर्ता रिहाइ, मुद्दा फिर्ता बाहेक कुनै ठ्रलो राजनीतिक उपलब्धि प्राप्त केही भएन । उनी क्रान्तिको नाममा ८ वर्ष कुदे । चार वर्ष त आफ्नै नेतृत्वमा पनि कुदे । तर अहिले आएर त्यही चार वर्षअघिको अवस्थामा फर्केका छन् ।