अभिनेत्री करिश्मा मानन्धरले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
नेता पन्तले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले छोरीचेलीबारे बोल्दा विचार पुर्यानउनसमेत चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।’
नेता पन्तले केही दिनअघि एक कार्यक्रममा कोमल वलीले पिँडुला देखार पोइल जान पाउँ भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।
पन्तको यस टिप्पणीलाई लिएर विरोध भइरहेका बेला अभिनेत्री मानन्धरले पनि आपत्ति जनाउँदै यस्ता संकीर्ण सोंच र तुच्छ भावना देखेर आफूलाई दया लागेको बताएकी छन् । साथै‚ उनले यस्ता व्यक्तिहरुलाई आफूलाई पहिले सम्मान गर्न पनि सुझाव दिएकी छन्।
‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो सुझाव दिन मन लाग्यो,’ उनले लेखेकी छन्, ‘आदरणीय, पहिला आफूले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ।’