वनको बाघ आयो कि मनको बाघले खायो ?
‘ममाथि अत्यन्तै तीव्र गतिले प्रहार भइरहेको छ । यदि ममाथि केही हमला भयो, ज्यान तल–माथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला । म नभए पनि पार्टी छ, आन्दोलन छ । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टी तल–माथि हुनुहुँदैन ।’
सोमबार पोखरामा हजारौँको भिडमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गरे । ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने सङ्केत गरे । प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षामाथि चिन्ता मात्रै व्यक्त गरेनन् आफ्नो ज्यान नै जोखिममा रहेको जनाउ दिए । देशको कार्यकारी प्रमुखको आफ्नै सुरक्षाप्रति गरिएको यस्तो चिन्ता सामान्य विषय होइन । जसरी उनले सभामा सामान्य रूपमा व्यक्त गरे ।
सोही भेलामा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । गृहमन्त्री समेत सहभागी भेलामा प्रधानमन्त्रीको यो तहको भनाइको व्यापक चर्चा भइरहेको छ । के ओलीमाथि शारीरिक हमलाको कुनै सुराक फेला परेको छ ? सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले कोबाट आक्रमणको सम्भावना छ ? खुलाएनन् ।
के सुरक्षा निकायले यस बारे पूर्व सूचना दिए ? अह ! त्यस्तो कुनै सुरक्षा थ्रेट सुरक्षा निकायले औँल्याएका छैनन् । सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको यो तहको भनाइले स्वयं सुरक्षा निकायका अधिकारी नै अचम्ममा परेका छन् । त्यसो भए ओलीले सुरक्षाजस्तो संवेदनशील विषयमा किन यसरी अभिव्यक्ति दिए ? उनले आफूमाथि ज्यानै लिनेसम्मको सुरक्षा चुनौती छ भनेर के प्रमाणित गर्न खोजेका हुन् ? प्रस्ट छैन ।
वनको बाघ कि मनको बाघ ?
प्रधानमन्त्रीको सुरक्षामा अहिले चारै निकायका सुरक्षाकर्मी परिचालित छन् । चारै सुरक्षा निकायका करिब दुई सय सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई दैनिक पहरा दिँदै आएका छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् । हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा पोसाकका सैनिकलाई पनि खटाउन थालेको छ ।
माथिका तथ्यले पनि प्रधानमन्त्री ओलीमाथि ठुलो सुरक्षा थ्रेट नरहेको देखाउँछ । पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि विपक्षीबाट हुनसक्ने सामान्य अवरोधका लागि सुरक्षा व्यवस्था कडा पारिएकै छ । ओलीले गरेको विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली अहिले नैतिक सङ्कटमा छन् ।
तर उनी भने यसलाई मान्न तयार छैनन् । करिब दुई तिहाइ बहुमत प्राप्त दल चोइटिएपछि उनी राजनीतिक रूपमा पनि कमजोर र रक्षात्मक बनेका पक्कै होलान् । राजनीतिज्ञ जब कमजोर र रक्षात्मक हुँदै जान्छ तब उसले भावनात्मक अभिव्यक्ति दिन थाल्छ । यस्तो अभिव्यक्ति दिएर नागरिकबाट सहानुभूति बटुल्ने प्रयास हुन्छ । के ओलीको अभिव्यक्ति त्यही मनोविज्ञानबाट आएको हो ?
यस्तो निष्कर्षमा पुग्नुभन्दा पहिले ओलीको यसअघिका केही अभिव्यक्ति पनि स्मरण गरौँ । ओली भाषण कलामा पोख्त नेता हुन् । विपक्षीप्रति तिखा वाण हान्न मात्रै होइन जनतालाई आफ्नो पक्षमा आकर्षित गर्न पनि उनी सिपालु छन् । यसका लागि उनी जस्तोसुकै तरिका अपनाउन सक्छन् । जहाँ जुन कार्यक्रममा गयो उनी त्यस्तै बनिदिन्छन् । यो उनको खुबी पनि हो ।
प्रतिनिधि सभा विघटनपछि सुदूरपश्चिम भेलामा पनि उनले भावुक भाषण गरेका थिए । जहाँ उनले आफू मरे पनि विपक्षीको आकाङ्क्षा पूरा हुन नदिने भन्दै कार्यकर्तालाई भावुक बनाउन खोजेका थिए। ‘म मर्छु तर उहाँहरूको आकाङ्क्षा पुरा हुन दिँदिनँ’ उनको भनाइ थियो ।
यति मात्रै होइन उनले आफ्ना कतिपय सम्बोधनका क्रममा समेत विपक्षीलाई मरिदिए हुन्थ्यो भन्ने लागेको भनेर अभिव्यक्ति दिँदै आएका छन् । मृत्यु जीवनको अन्तिम सत्य हो । मृत्युको कुराले मान्छेलाई स्वभावतः भावुक बनाउँछ । मान्छे बहकिन्छ । यो मानवीय गुण नै हो ।
ओलीले पनि आफ्नो ज्यान खतरामा रहेको अभिव्यक्ति दिएर आम मान्छेको सेन्टिमेन्ट जित्न खोजका हुन सक्छन् । भावनामा खेल्न खोजेका हुन सक्छन् । नत्र त चार वटै सुरक्षा निकायले कुनै सुरक्षा थ्रेट नऔँल्याएका बेला किन यस्तो अभिव्यक्ति दिए ? कि यो इमोस्नल ब्ल्याकमेलिङ हो ? वा उनलाई आफूमाथि सुरक्षा थ्रेट रहेको भ्रम पनि हुनसक्छ । उनलाई मनको बाघले तर्साएको पनि हुनसक्छ । वनकै बाघ आएको भए त इन्टेलिजेन्ससहित चार वटा सुरक्षा निकायले कुनै सुइको पाउनुपर्ने ।