तपाईँले आमिर खान अभिनीत ‘पिके’ फिल्म हेर्नुभएको छ । हेर्नुभएको भए तपाई “गलत नम्बर” को बारेमा पक्कै पनि जानकार हुनुहुन्छ । अर्को ग्रहबाट आएका पिके (आमिर खान) भगवानको खोजीमा भौँतारिन्छन् । उनले हिन्दु, मुस्लिम, क्रिश्चियनलगायत सबै धर्म चहारे पछि अन्त्यमा भगवान् त एक नै रहेछन् तर हामी गलत सोच र मानसिकताको शिकार भएका रहेछौं भन्ने निष्कर्ष निकाल्छन् ।
उनी र जग्गु (अनुष्का शर्मा) भएर गलत नम्बरको धारणा बनाउँछन् र भगवान् गलत होइन्न, गलत त हामीले बनाएको सोच रहेछ भन्ने सन्देश दिन्छन् । हामी पनि कहिलेकाँही त्यस्तै भुमरीमा पर्ने गरेका छौँ । सही र गलतको पहिचान गर्नुको साटो अरूले भनेको कुरामा ‘हो मा हैँसे’ भन्दै अगाडी बढ्छौँ । केही साथिहरु यस्तै गलत बुझाइको शिकार भएका छन् ।
पत्रकार भएको नाताले बिहान देखि बेलुकासम्म सूचनाको बारेमा अपडेट हुनुपर्छ । पुसको पहिलो साता फेसबुकमा रुमलिरहेको थिए । पत्रकार महासङ्घ काठमाडौँ शाखाको अध्यक्ष शान्ताराम बिडारीले सञ्चार रजिस्ट्रार कार्यालय बाग्मती प्रदेशको पत्रकारहरूलाई विभिन्न विधामा तालिम दिने भन्दै फर्म भर्न अनुरोधसहितको पोस्ट गर्नुभएको थियो । म फर्म भरौँ कि नभरौँ भन्ने दुबिधामा परे । किनभने यस अगाडी पनि केही फर्महरू भरेको थिए तर तालिममा सहभागी हुने अवसर पाएको थिइन ।
मैले व्यक्तिगत विवरण र एन.पी. सञ्चार प्रा.लि को सञ्चालक पवन पौडेललाई तालिममा जान इच्छुक भएको भन्दै सिफारिस पत्र बनाउन लगाए र व्यक्तिगत विवरण सहित प्रेस रजिष्ट्रारको अनलाइनमा इमेल गरे । त्यसपछि म आफ्नो काममा व्यस्त भए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि समाचार सङ्कलन, सम्पादन गर्नुपर्ने भएकोले मेरो व्यस्तता झन् बढ्यो ।
२ महिनासम्म पनि तालिमको लागि फोन नआएपछि, मैले यो मौका पनि गुमाए भनेर आफ्नै काममा व्यस्त भए । फाल्गुनको पहिलो साता सञ्चार रजिस्ट्रार कार्यलयबाट फोन आएर १२ गते देखि १६ गतेसम्म तालिम सञ्चालन हुने जानकारी पाए । र मैले सोचे, ‘मेरो साथीको बुझाई गलत रहेछ, उसले मलाई बारम्बार म कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नभएकोले गर्दा यस्ता अवसरहरू गुम्ने बताउँदै आएको थियो । उसलाई मैले तत्काल फोन गरे र यो कुरा सुनाए । ‘उ पनि ‘पिके’ फिल्मको जस्तै गलत बुझाइको मारमा परेको रहेछ ।’
पत्रकारिताको तालिम लिन म इच्छुक थिए किनभने पत्रकारिता मेरो पेसा मात्र नभएर मेरो सपनासँग जोडिएको एउटा महत्त्वपूर्ण अङ्ग हो । पत्रकारिता क्षेत्रमा म कसरी आए भनेर मैले यस अगाडी नै लेखिसकेको छु । यो सँगै मलाई प्रेस काउन्सिलले महिला पत्रकारहरूसँग गर्ने अन्तर्क्रिया कार्यक्रमको लागि पनि निम्ता दियो । समय जुधेकोले कुनमा जानु कुनमा नजानु भनेर धेरै दुबिधामा परे र अन्ततः धुलिखेलको ५ दिने तालिममा सहभागी हुने निचोड निकाले ।
१२ गते १० बजे, धुलिखेल पुगिसक्नुपर्ने भनेर सञ्चार रजिस्ट्रार कार्यालयबाट फोन आएको थियो । १२ गते हतार हतार गर्दै ढिलो गरेर, तालिममा सहभागी हुन पुगे । नयाँ ठाउँ, कस्तो कस्तो साथी होलान् भनेर धेरै कुराहरूले मनमा डेरा जमाइरहेको थियो ।
तालिमको पहिलो दिनमा बाग्मती प्रदेशको उपसभामुख राधिका तामाङसँग भेट हुने अवसर जुर्यो । एकदमै सरल स्वभाव, सबैसँग घुलमिल हुने बानी र महिलाहरूलाई सधैँ अगाडी बढ्नुपर्छ भन्ने उहाँको भनाई बाट धेरै नै प्रभावित भए । प्रशिक्षकहरू उमेश श्रेष्ठ र प्रवेश सुवेदी रहनुभएको कुरा थाहा पाएपछि म झन् उत्साहित भए । उहाँहरूबाट धेरै कुरा सिक्ने अपेक्षा सहित कक्षामा बसे ।
ज्वरो र रुघाले एकदमै दुख दिएको थियो । नयाँ कुरा सिक्ने अपेक्षाको साथमा सबै दुखाइ भुलेर कक्षामा बसे । तालिममा विभिन्न अनलाइन सञ्चारमाध्यमका १९ जना सहभागी थियौँ । पहिलो दिन परिचयात्मक कार्यक्रमसँगै हामीले के कति जानेको छौँ, र हामीलाई कसरी पढाउँदा सहज हुन्छ भनेर प्रवेश सरले फर्म भर्न लगाउनु भयो । सुरुको दिनमा हामीले अनलाइन पत्रकारिताको बारेमा अध्ययन गर्ने मौका पायौँ । सबै साथीहरूले पहिलो दिनको तालिमबाट धेरै कुरा सिकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
त्यसै गरी हाम्रो सिकाइको चरण निरन्तर चल्यो । पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, चौथो दिन हुँदै पाँचौँ दिनसम्म आइपुगेको पत्तो नै भएन । पाँच दिनको बसाइमा हामीले धेरै नै ज्ञान लिइसकेका थियौँ । सबैको मुहारमा सन्तुष्टिको भाव झल्कन्थ्यो ।
५ दिनको तालिममा मेरो अनुभव कस्तो रह्यो त ?
तालिममा जानु अगाडी नयाँ के नै हुन्छ होला र ? भन्ने सोच थियो । तर ५ दिनको तालिममा मैले धेरै कुरा सिक्ने अवसर पाए । अनलाइन पत्रकारिता, न्यु मिडिया, यसको इतिहास, अनलाइनमा समाचार तथा हेडलाइन कसरी लेख्ने, हाम्रो पाठकलाई मिथ्या समाचार र भ्रमबाट कसरी मुक्त बनाउने, स्रोत कसरी पहिचान गर्ने देखि लिएर विभिन्न टेक्निकल कुराहरू पनि सिक्ने अवसर मिल्यो ।
तालिममा हामीले पत्रकारिता मात्र सिकेनौँ पित्त पत्रकारितालाई कसरी क्लिकवेट पत्रकारिता बनाइरहेका छौँ भनेर विभिन्न अनलाइनका समाचारहरुको मुल्याङकन पनि गर्यौँ । दुई जना प्रशिक्षक ज्ञान र प्रविधिमा पोख्त भएकोले हामीले उहाँहरूबाट धेरै भन्दा धेरै कुराहरू सिक्ने अवसर पायौँ । हामी पत्रकार हौँ भन्छौँ, पत्रकारका विशेषता के हुन्, के हामीले दिएको समाचारले समाजमा सकारात्मक प्रभाव पारेको छ त ? लगायतका धेरै कुराहरू अन्तरक्रियात्मक रूपमा छलफल गर्यौँ ।
कस्ता सामाग्रीलाई समाचार भन्ने र कस्तालाई नभन्ने जस्ता हेर्दा सामन्य लाग्ने तर भन्न र बुझ्न गाह्रो हुने कुराहरुको बारेमा पनि हामीले जानकारी पायौँ । प्रशिक्षकहरूले हामीलाई अत्यन्तै सरल तरिकाले प्रशिक्षण दिनुभयो जसले गर्दा हामीलाई बुझ्न अत्यन्तै सरल भयो । यस तालिमबाट हामीले सिकेका कुराहरू म क्रमशः लेख्दै जानेछु ।
विभिन्न जिल्ला र मिडियाबाट आउनु भएका साथीहरु एकसाथ भयौं, गुरुहरुले पढाएको कुरा ध्यान दिएर सुन्यौं र व्यवहारमा उत्तार्ने प्रतिबद्धता समेत व्यक्त्त गर्यौं । धुलिखेलमा रहेका बिभिन्न पर्यटकीय स्थलहरुको भ्रमणको साथमा हामीले रमाइलो पनि गर्यौं ।
समग्रमा मेरो ५ दिनको धुलिखेल बसाई अर्थपूर्ण रह्यो । मैले धेरै कुरा सिक्ने मौका पाए । मसँगै साथीहरूले पनि धेरै कुरा सिक्नु भयो भन्ने अपेक्षा राखेको छु । हामीले सिकेको सिपलाई व्यवहारमा उतार्दै, ज्ञान बाढे ज्ञान बढ्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै हाम्रा समकक्षी साथीहरूलाई पनि सिकाउने छौँ ।
यो अवसरको लागि बाग्मती सञ्चार रजिस्ट्रार कार्यालयका रेवती सापकोटा सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै धेरै कुरा जान्ने र बुझ्ने अवसर दिनुभएकोमा प्रशिक्षकहरूलाई र छोटो समयमा नै माया र साथ दिनुहुने सबै साथीहरूलाई हृदयदेखि नै धन्यवाद ।