नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसद्मा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ ।
शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरेका हुन् । उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौँ । उहाँको पक्षमा सङ्ख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन् ।’
यस अगाडी विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने ओलीको पक्षमा ८१ जना सांसद छन् ।
प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ मात्र सांसद रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको १ सय ७२, नेपाली काँग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद रहेका छन् ।
नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहमा ९०, ओली समूह ८१, वामदेव समूह १ रहेका समाचार यस अगाडी केटिएम दैनिकमा प्रकाशित भैसकेको छ ।
तर नवनिर्वाचित प्रमुख सचेतकले भने दाबाका साथ ओलीसँग १ सय भन्दा बढी सांसद भएको र आवश्यक परेको खण्डमा सूची नै सार्वजनिक गर्न तयार रहेको बताएपछि राजनैतिक वृत्तमा ठुलै हलचल मच्चिएको छ ।
सर्वोच्चको आदेशले गर्दा सांसद किनबेच हुने कुरा परराष्ट्र मन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता समेत रहेका प्रदीपकुमार ज्ञवालीले आज काठमाडौँको एक कार्यक्रममा बताइसकेका छन् । शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा बोल्दै उनले भने “कतै फेरी संसद्, सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?”
भट्टराईको दावा सही हो भने केही सासंदहरु विभिन्न प्रलोभनमा परेर ओली पक्षमा पुगेका छन् । यदि उनको दावा गलत हो भने प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव ल्याउने हिम्मत नगरुन् भनेर तर्साउन मात्र खोजिएको हो ।
फाल्गुन २३ गते बिहान १० बजे भन्दा अगाडीसम्म धेरै सासंदहरु किनबेच हुने पक्कापक्की भएको छ । काम नभएर दुई महिना घर बस्दा पनि तलबभत्ता पाएका हरु अब मालामाल हुने भए भन्दै बजारमा हल्ला चल्न थालेको छ । त्यो हल्ला केही हदसम्म सत्य पनि हो किनभने यसअगाडी पनि नेपालमा सासंद किनबेच भएका धेरै उदाहरणहरु छन् ।