नेपालका समृद्धिका लागि विद्यमान शिक्षा नीति परिवर्तनको खाँचो देखाउँदै शिक्षामन्त्री कृष्णगोपाल ले श्रेष्ठले आफू शिक्षा ऐन २०२८ परिवर्तन गर्ने योजना रहेको बताएका छन् ।
सूचना प्रविधिको बढ्दो प्रयोग, परिवर्तन भएको शासकीय संरचनाजस्ता जस्ता कारण पुरानो ऐनले परिणाम ल्याउन नसक्ने उनको भनाइ छ । डडेलधुरा जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणका लागि काठमाडौँ आएका शिक्षक र शैक्षिक क्षेत्रसँग सरोकार राख्ने अधिकारीहरूसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले भने, ‘विकास व्यवस्थापनका लागि व्यक्तिगत सोचले पहिलो भूमिका खेल्छ । यसको मेरुदण्ड शिक्षा हो । देश गणतन्त्रात्मक व्यवस्थामा गएपछि शैक्षिक क्रियाकलाप पनि परिवर्तित सन्दर्भमुताबिक नै बनाउनु पर्छ । मन्त्रालय अहिले यता लागेको छ ।’
सुदूर पश्चिम क्षेत्रको डडेलधुरा जिल्लाको अजय मेरु र गन्या पधुरा गाउँपालिकाकाबाट जनप्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका, सामाजिक विकास समितिका संयोजकहरू अवलोकन भ्रमणमा आएका हुन् । लू निभा:(बाल सरोकार समूह) ले व्यवस्थापन गरेको अवलोकन भ्रमणमा ३७ जना प्रतिनिधि सहभागी भएका हुन् ।
‘गाउँका शैक्षिक समस्या, प्रदेश हुँदै सङ्घसम्म पुर्याएर शैक्षिक विकासमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत अनुभव र सिकाइ आदान प्रदान गर्ने कार्यक्रम गरेका हौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै लू निभा का कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले भने, बाल केन्द्रित सिकाइको प्रवर्धन गर्नु अहिलेको आवश्यकता हो ।
लू;निभाले ग्रामीण शैक्षिक सुधारका लागि यी २ वटा गाउँपालिकाका परियोजना सञ्चालन गरिरहेको छ । म्याचिङ् फन्ड (जोड कोष) बाट सञ्चालित परियोजनामा पालिका, लू निभा र समुदाय स्तरको सहभागिता छ ।
कार्यक्रम व्यवस्थापक सन्तराम डङ्गोलका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि नीति पैरवी गर्न सन् २०१९ को जनवरीबाट यो परियोजना सुरु गरिएको हो । परियोजना सन् २०२२ को डिसेम्बरमा सकिनेछ ।
शैक्षिक भ्रमणमा आउनु भएका प्रतिनिधिहरूले ललितपुर र काभ्रेका ४ वटा विद्यालयको बाल सिकाइ अभ्यास अवलोकन गर्नेछन् । लू निभाका कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनका अनुसार गोदावरी नगरको डुकुछापमा रहेको दनुवार समुदायमा रहेको चण्डीदेवी आधारभूत विद्यालय, पाटन ढोकामा रहेको रातो बङ्गाला विद्यालय, काभ्रे जिल्लाको धुलिखेल नगरमा रहेका सरस्वती माध्यमिक विद्यालय र विनायक बाल आधारभूत विद्यालयको सिकाइ अभ्यास अवलोकन गरिनेछ ।
अवलोकनका क्रममा स्थानीय पाठ्य सामाग्री उत्पादन, उत्पादित सामाग्रीको सिकाइका क्रममा प्रयोग, स्थानीय सरकारका नीति, उत्प्रेरणा, वह शिक्षण विधिलगायत विषय मूल रूपमा आदानप्रदान हुनेछन् ।