जिन्दगी बहुमूल्य छ, यसलाई बेकार नबनाउनुहोस्
जिन्दगी एक जिन्दगी हो, यसका निम्ति लड्नुहोस् ।
– मदर टेरेसा
माथिका शब्दहरू मदर टेरेसाले जिन्दगीका भोगाइका क्रममा लेखेकी हुन् । उनले भने जस्तै जीवन जिउने क्रममा अनेक आरोह अवरोहहरू आउने गर्छन् । यी सबै कुरालाई चिर्दै अगाडी बढ्नु पर्छ । भनिन्छ नि सुख र दुख नै जीवनको चौतारी हो । तर पनि हामी दुखमा आत्तिने र सुखमा मात्तिने बानी पारेका छाैं । कसैले यो कुरालाई नकार्न सक्दैनौं ।
अनामनगरबाट काँडाघारीकाे खहरे भन्ने स्थान नजिकैको बस बिसौनीमा पुग्दा एक जना मानिस न्याउरो अनुहार लगाएर बसेको देखे । उनको साथमा उनीसँग पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसी भलाकुसारी गरिरहेका थिए ।
पुरै लिसो परेको कपाल, धेरै दिनदेखि ननुहाएको जस्तै देखिने एकदमै फोहोरी लुगा लगाएको मानिस, दिनभरि रोएर बसे जस्तै रसिला आखाँ भएको उनीले आफ्नो नाम अम्बिका गजुरेल भएको बताए । सबैभन्दा अनौठो कुरा चाहिँ उनको बोली स्पष्ट र कडा थियो । म उनी सँग कुरा गर्न थाले । उनले उनको जीवनको धेरै भोगाइहरुको बारेमा कुरा गर्न थाले उनका कुराहरू सुनेर मेरो र जन्मदेव जैसीको पनि आँखा रसाए ।
को हुन् अम्बिका गजुरेल ?
उनकै शब्दलाई सापटी लिने हो भने उनी एक भाइरल ब्यक्ती हुन् । उनले बोलेका कुरा युट्युब र टिकटकमा भाइरल भएपछि, उनलाई विदेशबाट फोन आयो रे, तेरो नाममा धेरै पैसा जम्मा भएको छ तँ किन गाउँमा दुख गरेर बस्छस् ? तेरो भिडियो भाइरल भएर आएको पैसाले काठमाडौँमा के के गरिसके तँ चैँ गाउँमै बस । विदेशबाट फोन आएर यस्तो कुरा सुनेपछि उनी त्यही पैसा पाउने अभिलाषाका साथ काठमाडौँ आएका हुन् रे ।
केहि महिना अगाडी थापाथली पुल नजिकै बसेर आफुले दिएको अन्तर्वार्ता भाइरल भएको र सहयोगीहरुलाई उनलाई आर्थिक सहयोग पठाएको खबर रामेछापमा रहेका अम्बिकालाई पुगेपछि उनी तत्काल काठमाडौं आएको बताउँछन् । थापाथली नजिकै आफुले अन्तर्वार्ता दिएको युट्युवर खोज्दा नभेटिएपछि उनी भौतारिएर हिडेका रहेछन् । उनले थापाथलीमा गएर उनको भिडियो भाइरल बनाउने व्यक्तिको खोजी कार्य गर्नुका साथै पुलिससँग पनि परामर्श गरेको कुरा बताए ।
उनी रामेछापको दोरङ्गा गाउँपालिकाको स्थायी बासिन्दा हुन् । पिता देवी प्रसाद गजुरेल र आमा गङ्गा देवी गजुरेलको कोखबाट २०३५ सालमा जन्मिएका गजुरेल रामेछापकै गुराँस अङ्ग्रेजी माध्यमिक विद्यालयमा दुई वर्ष पढाएको बताउँछन् । जिन्दगी राम्रोसँग चलिरहेकै थियो , घर र विद्यालय नजिकै रहेकोले राम्रोसँग जीवनयापन भइरहेको उनी बताउँछन् । पछि माओवादी पार्टीको उदय भएसँगै उनी उक्त्त विद्यालयबाट निस्कन बाध्य भएको बताए ।
विद्यालयबाट निकालिएपछि उनका तनाबका दिन शुरु भए । कता जाऊ के गरौँ भयो रे । निकै तनाव र छटपटीमा जीवन जिउन बाध्य भएका उनी अन्त्यमा माओवादी युद्धमा होमिएको बताउँछन् ।
उनले पटक पटक युवराज चौलागाईको नाम लिए । चौलागाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष, परराष्ट्र मन्त्रीको स्वकीय सचिव र अन्तर्राष्ट्रिय विभागको सदस्य समेत रहेको छन् । चौलागाई र आफुले एउटै विद्यालयमा अध्ययन गरेको चौलागाई पहिलो र आफू दोस्रो हुने गरेको उनले दाबी गरे ।
आफू विद्यार्थी आन्दोलनमा लागेर धेरै काम गरेको बताउँदै उनले भने,’हिजो सँगै आन्दोलन गरेर सँगै जेलजिवन बिताएको अग्नि सापकोटा आज सभामुख भएर पनि मलाई बेवास्ता गरे । हिजो सँगै आन्दोलन गरेको हामी जस्ता योद्धाहरू आज यसरी भतारिएर बसेका छौँ । नेतृत्व गरेकाहरू चैँ आलिसान महलमा बसेका छन् ।’
जेल जीवन भोगिरहेका साथीहरूलाई रोटी पुर्याउन गएको आधारमा नै आफू जेल परेको उनी बताउँछन् । ‘मलाई काभ्रेको नाला दोबाटो भन्ने ठाउँबाट पक्रियो, पछि थाहा पाए अग्नि सापकोटा लगायतका साथीहरूलाई रोटी पुर्याएकै कारण सुराकीको आधारमा मलाई पक्रिएको रहेछन् ।’ त्यति बेला माओवादी देख्ने बित्तिकै पक्रिने आदेश दिएको थियो र माओवादी हैन भनेर हिड्दा हिड्दै पनि जेलजीवन भोग्न बाध्य भएको उनले बताए ।
२ वर्षको जेलजिवन अत्यन्तै कष्टकर रहेको उनी बताउँछन् । २०६० सालमा जेल परेर ६२ सालमा छुटेको र सिधै आफ्नो गाउँ गएर खेती किसानीमा लागेको उनी बताउँछन् ।
तत्कालिन माओवादी सरकारसँग वार्तामा आइसकेपछि उनी आफू सेना समायोजनमा नलागेको बताउँछन् । सेना समायोजनमा नलागेकाहरूलाई चितवनको शक्ति फाँटमा लगेर राखे । बोल्न सक्नेहरूले ५ देखि २१ लाखसम्म लिएर निस्किए मैले भने एक रुपैयाँ पनि पाइन, उनले गुनासो गरे ।
उनको कुरामा राजनीति प्रति अत्यन्तै वितृष्णा बढेको प्रस्ट बुझ्न सकिन्थ्यो । देश यदि बहुदलीय व्यवस्थामा नै जानु थियो भने १७ हजार मानिस किन मार्नु पर्थ्यो र ? उनीहरूको आँशुले तिमीलाई पिरोल्छ, उनले आँखाभरि आशु पार्दै भने । अहिले विश्वमा नै सबैभन्दा धेरै बिग्रिएको भनेको हाम्रो देश नै हो । अन्य देशमा रिपव्लिका र डेमोक्रेसी भन्ने पार्टी हुन्छ तर हाम्रो देशमा भने मधेसमा पार्टी, पहाडमा पार्टी यता पार्टी उता पार्टी के हो के हो ? उनले प्रश्न तेर्साए ।
पहिले साम्यवादको नारा लिएर हिँडेको मानिसहरू अहिले प्रधानमन्त्रीको कुर्सी तानातान गरेको देख्दा म सडकमा रहेको मान्छेलाई त आश्चर्य लाग्छ भने अरूलाई कस्तो होला ? उनले भने । उनले प्रचण्डको बाटो सही भए पनि हिँडाइ गलत रहेको विश्लेषण गरे । उनीहरूलाई सहयोग गरेकै आधारमा जेलजिवन भोगेको र अनेकौँ दुख पाएको मान्छे आज सडक पेटीमा हुँदा किन कसैले मेरो आशु देख्दैन ? उनको भनाई थियो ।
आफूले रौतहटको चन्द्रनिहापुरको केटीसँग बिहे गरे पनि आफ्नो सम्बन्ध विच्छेद भएको र आफ्नो यस्तो अवस्था भएको उनले बताए । युद्धकालमा सँगै सङ्घर्ष गरेर २ वर्ष जेल जीवन बिताएका उनी अहिलेको राजनीति अवस्थाप्रति अत्यन्तै रुष्ट देखिए ।
उनीसँग कुरा गरिरहँदा उनी पनि जसरी पनि भाइरल हुन खोज्ने र भाइरल भएर उठाएको पैसाले गाउँमा गएर खेती किसानी गर्ने सोच बनाएको प्रस्ट बुझ्न सकिन्थ्यो । अहिले नेपालमा भाइरल हुन सजिलो भएकोले पनि उनलाई भाइरलको भूत चढ्नु कुनै आश्चर्य लागेन ।
उनका कुराहरू सुने, केही टिपोट गरे । आइतबार राती उनी जडीबुटीको किनारामा बालेको आगो तापेर बसेका रहेछन् । तातो भएपछि उनी त्यही निदाएछन् । उनको खुट्टा सबै पोलेको थियो । राम्रोसँग हिँड्न पनि सकेका थिएनन् । उनलाई उपचार गरेर आफन्तको जिम्मा लगाइदिनु पर्यो भनेर सल्लाह गर्यौ र सल्लाह बमोजिम नै हामीले कागेश्वरी मनोहरामा रहेको गान्धी तुलसी मनोहरा कम्युनिटी हेल्थ केयर सेन्टरमा लगेर उपचार गरायौं । उनको नाजुक अवस्था देखेर डाक्टरले पुलिसलाई खबर गर्नुपर्ने हो कि भनेर बताए । हामीले बाटोमा भेटेर उपचारको लागि ल्याएको भनेपछि उनको उपचार सुरु भयो । उनको लुगा सबै आगोले पोलेर टाँसिएकोले डाक्टरलगायतको टिमले लुगा नै काटेर फाल्नुपर्ने अवस्था आयो ।
रक्सीको नसामा झुमेका उनको शरीर र घाउले पुरै अस्पताल नै दुर्गन्धित बनेको थियो । तर पनि डाक्टर र नर्सहरूको टिमले पर्फ्युम छर्कँदै उनको उपचार गरे । उनको दुईटै खुट्टा पुरै पोलेको थियो । केही सहयोगी मिलेर उनको उपचार गर्यौँ । हामीले उनलाई नयाँ कपडा किनेर लगाइदियौँ ।
अस्पताल वरापरीकोले उनले आफ्नो फुपूको छोरालाई भेट्न भनी पैसा उठाउने र त्यही पैसाले रक्सी खादै हिँड्ने गरेको बताए । उनलाई धेरैले त्यहीको सडक पेटीमा सुतेर हिँडेको बताए । हामीसँगको भेटमा पनि उनले आफ्नो फुपूको छोरालाई भेट्न बुढानीलकण्ठ जाने र त्यहीबाट घर जाने कुरा बताए । कसरी र के बोल्दा भाइरल भइन्छ र पैसा आउँछ भनेर सोच्नुभन्दा आफ्नो घर गएर मेहनत गरेर खानुस् र आफ्नो बाबुआमालाई सुखको साथ पाल्नुहोस् भनेर हामीले सम्झायौं पनि । रक्सी धेरै खाएकोले यस्तो अवस्था आएको भन्दै अब बाट सचेत हुन हामीले अनुरोध समेत गर्यौं । अन्त्यमा उनी आफ्नो दाजुकोमा पुगेको भन्ने खबर पाएपछि हाम्रो मिसन सफल भएको ठान्यौं ।
कक्षामा सधैँ दोस्रो या तेस्रो हुने, राम्रो पढाई भएको र धेरै कुराको ज्ञान र राजनीतिक बुझेको मान्छेको हालत देखेर दिक्क लाग्यो । उनले भने झैँ उनीसँगै युद्ध लडेका साथीहरू पदको लागि लडाइ गरिरहेका छन् उनी भने रक्सी र सडकलाई साथी बनाएर आफ्नो जीविकोपार्जन गरिरहेका छन् ।
पत्रकारको हकहितको लागि सधै लड्ने जैसी र मेरो नाम नलेख्नु है भन्दै सहयोग गर्ने सहयोगीको साथ पाएर आज हामीले उनलाई अस्पताल लगेर औषधी उपचार गर्यौं । र आफन्तको जिम्मा लगाउन सफल भयौं ।
१२ दिनदेखि काठमाडौँमा भौतारिको बताउँदै उनले बिभिन्न युट्युब च्यानलहरुमा पनि अन्तर्वार्ता दिएको कुरा अफिस आएर सर्च गरेपछि थाहा पाए ।