सर्वोच्च अदालतमा प्रतिनिसभा विघटन विरुद्धको मुद्दाको फैसला आउने तयारीमै रहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेका छन् । सोमबार सर्वोच्च अदालत पुगेर थापाले जबरालाई भेटेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो मुद्दालाई आफू अनुकूल फैसला गर्न प्रधानमन्त्री ओली र आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूहले दवाव दिइरहेका छन् ।
भेटवार्तामा दुईबीचमा सर्वोच्च अदालत पछाडि सेनाको नाममा भएको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफलका लागि भेटवार्ता भएको भनिए पनि उक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेकोबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएको भनिएको छ ।
त्यसो त अदालतको अवहेलनासम्बन्धिको मुद्दाको लिखित जवाफ पेश गर्न जाँदा प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । यसअघि अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा आफ्नो नाममा नामसारी गर्न पहल गर्दै आएको थियो ।
फैसलाको तयारीको मुखमै यी दुई जनाबीचको भेट रहस्यमय बनेको छ ।