भोकै थिए, तै पनि तिमीलाई रगत दिए ।
नाङ्गै थिए, तै पनि तिमीलाई जगत् दिए ।
टाउको फुटाले, गिदी छरिदिए ।
हातका नङ्ग्राले सिसा फुटेनन् ।
खुट्टै भाँची छर्रा छरिदिए ।
गोजी उल्टो थियो, तै पनि मुठीहरू बलिया थिए ।
कलम सुतेको थियो, तै पनि कथाहरू लेखिँदै थिए ।
आन्द्रा तानेर प्यास पोखिदिए ।
उज्यालो, तारहरूमा कुद्न छोडेछ ।
ठुला भुँडी भित्र शक्ति पोखिदिए ।
धर्तीको ममता काँप्दै थियो, तै पनि नयन भिजाउन दिएनन् ।
भरोसाको प्याला रित्तै थियो, तै पनि दीप निभाउन दिएनन् ।
किताबको पन्ना भित्रको मयुरको प्वाँख उड्यो ।
छडीहरू सबै भाँचिए ।
इन्द्रेणी बगरमा ढल्यो ,परेवा गुफा भित्र उड्यो ।
आँखा खोली निदाएछन्, सपनाले बाटो मोडे ।
करणी कारक ठिङ्ग थियो, द्वार भाँची बोली मोडे ।
सिक्काहरू सबै गन, औलाहरू सबै भाँच ।
न मूल्य राख्यौ, न तिर्न सक्छौ ।
नमर्ने जिन्दगीहरू छन् सके सम्म भाँच ।
शताब्दीको आस, पर्खाल नै पर्खाल, मनहरूको लास ।
रमाएछौ, जुका जस्तै अजीर्ण छौ, ब्वासाहरुको बास ।
हामी खन्ने छौ, तिमि विष रोपिदेऊ ।
गुलेली ताक्यो, सर्प कोकुन भित्रै छ ।
अझै पनि कमलको फुल तिम्रै हो, अत्तर लेउ उत्तर देऊ ।
कमलको फुल तिम्रै हो, अत्तर लेउ उत्तर देऊ ।