सिन्धुपाल्चोकमा श्वेता खड्काले बनाएको माझी बस्तीको स्थलगत अवकोलनपछि हामी धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित महोत्तरी जिल्लाको बर्दिबासमा रहेको एकिकृत नमूना मुसहर बस्तीमा पुगेका छौं । माझि बस्तीका मानिसहरु श्वेता खड्काले आफ्नो टाउँकोमा ऋणको भारी बोकाएको भन्दै आक्रोश व्यक्त गरेका थिए भने मुसहर बस्तीका मानिसहरु धुर्मुस सुन्तलीलाई भगवान समेत मान्न तयार देखिए ।
२०७४ साल बैशाख १ गते हस्तान्तरण गरिएको उक्त बस्तीमा बस्ने मानिसहरुको अवस्था र उनीहरुको जीवनशैलीको बारेमा बुझ्न केटिएम दैनिकको टिम काठमाडौंबाट २ सयब किलोमिटर भन्दा बढीको यात्रा गरेर बर्दिबास पुगेको छ ।
महोत्तरीको बर्दिबास चोकबाट १० मिनेटको दुरीमा रहेको मुसहर बस्ती टाढैबाट हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । एकिकृत नमूना मुसहर बस्तीमा रहेको प्रवेशद्वारबाट भित्र छिरेपछि त्यहाँ रहेका आकर्षक घरले सबैको मन लोभ्याउँछ । चिटिक्क परेका २ तला भएका ५० वटा घर छन् । उक्त घरका साथै सामुदायिक भवन, बालउद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय समेत देख्न सकिन्छ ।
बस्तीको बीच भागमा ३५ फिट अग्लो भ्युटावर छ । जहाँबाट बस्तीसहितका बर्दिबास चोकवरिपरिका गाउँको मनोरम दृश्य नियाल्न सकिन्छ । खरले छाएको झुपडीमा बस्ने मानिसहरुले पक्की घरमा बस्न पाएपछि अत्यन्तै हर्षित देखिन्छन् । केही व्यक्तिहरु त धुर्मुस सुन्तलीलाई भगवानको स्वरुप मान्ने गरेको पाइयो । त्यहाँ बनेका प्रत्येक घरमा फाउन्डेसनले धुर्मुस सुन्तलीका तस्विरुहरु राखेको छ ।
५० घरमा ३ सय १५ भन्दा बढी जनसंख्या रहेको छ । घरधुरीको हिसावले उक्त जनसंख्या धेरै हो । यस विषयमा हामीले बुझ्न खोज्दा उक्त बस्तीबाट पहिलो एसएलसी उत्तिण गर्ने मञ्जय सदाले भने, जनचेतनाको कमीले गर्दा यहाँ एकजनाको ६ जनासम्म सन्तान जन्माउने गरेका छन् । अशिक्षाको कारणले परिवार नियोजनसम्वन्धि चेतनाको अभाव छ । त्यसैले पनि जनसंख्या बढिरहेको छ ।
बस्ने घर भएपनि उनीहरुमा रोजगारीको समस्या छ । फाउन्डेसनले रोजगारीको वातावारण सिर्जना गरिदिने हो भने आफ्नो जिवनयापन सहज हुने उनीहरु बताउँछन् । घर त भयो तर बिहान बेलुका छाक टार्न मुस्किल छ । हामीले पढैंका छैनौ । मजदुर काम पनि सँधै पाइदैन । त्यहाँ भेटिएका एक युवकले हामीसँग गुनासो पोखे । अहिले उनीहरुलाई बिजुली पानीको बिल तिर्न पनि समस्या भएको भेटियो । काम पाए जतिपनि मेहनत गर्न आफू तयार रहेको उनीहरुले बताए ।
कोरोना महामारीको कारण भएको लकडाउनले उक्त वस्तीका बासिन्दाहरुलाई धेरै असर गरेको देखियो । धुर्मुस सुन्तली फाउन्डेसनले सबैको घरमा ग्याँस चुल्हो दिएको भएतापनि अहिले भने उनीहरुले दाउँरा बालेर खाना पकाउँछन् ।
सबैको घरअगाडी खाना पकाउनको लागि माटोको चुल्हो बनाइएको छ । बिहान बस्तीमा पुग्दा सबैको घरमा खाना पाकिरहेको देख्न सकिन्थ्यो ।
हेर्नुहोस सम्पूर्ण जानकारी तलको भिडियोमा