‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ। तर, मुद्दा र एजेन्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ । हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन् । इतिहासको कर्मको कारणले दुवै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको छ ।’
शनिवार डा. बाबुराम भट्टराईकै अगाडि उभिएर पुष्पकमल दाहाल प्रचण्डले भने । हाल जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन कार्यक्रममा लामो समयपछि प्रचण्ड-बाबुराम एउटै मञ्चमा देखिए । अर्को सन्दर्भ पनि गजबको थियो जनयुद्ध दिवस । दाहालले भट्टराईलाई गरेको सम्बोधनलाई लिएर कार्यक्रमका सहभागीहरूबिच खासखुस भयो ।
हुन पनि हो, दाहाल-भट्टराईबीचको सम्बन्धमा अनेक आयमहरु छन् । २०५२ फाग’न १ कै दिनदेखि औपचारिक रूपमा सुरु भएको उनीहरूको सहयात्रामा अनेक उतारचढाव आए । कुनै दिन त मारामारको स्थितिसम्म पुग्यो । २०७३ जेठ ३० भट्टराईले दाहालसँग सम्बन्धविच्छेद् गरेको घोषणा गरे ।
ओलीविरुद्ध अलग–अलग आन्दोलन गरिरहेका दाहाल-भट्टराईबीच एकता हुने अड्कलबाजी र त्यसका लागि केही गोप्य प्रयाससमेत भइरहेका बेला उनीहरू एउटै मञ्चमा देखिनु संयोग मात्रै हुन सक्दैन ।
राजनीतिक रूपमा दुई दशक बढी सहयात्रा गरेका र शीर्ष नेतृत्वमा रहेर जनयुद्ध गरेका दुई पूर्व माओवादीबिच जनयुद्ध दिवसकै दिन शनिवार अनौठो पुनर्मिलन भयो । तर, त्यो राजनैतिक पुनर्मिलन भने थिएन ।
प्रचण्ड-बाबुराम अहिले राजनीतिक भूमिकाका हिसाबले मात्रै होइन वैचारिक रूपमा पनि धेरै टाढा भइसकेका छन् । दाहाल कम्युनिस्ट कित्तामै छन् भने भट्टराई धेरै टाढा पुगिसेका छन् । १० वर्षे जनयुद्धमा एकसाथ रहेका दुई नेता राजनीतिक रूपमा अहिले नदीका दुई किनार जस्तै हुन् । हुन त जनयुद्धमा सामेल अन्य माओवादी नेताहरू पनि तितरबितर भइसकेका छन् ।
तर, ‘हामीलाई इतिहासले अलग हुन दिँदैन ।’ शनिवार दाहालको यो भनाइले उनीहरू एक नभए पनि नजिकिएको भने भान हुन्छ । ओलीविरुद्ध अलग–अलग आन्दोलन गरिरहेका दाहाल-भट्टराईबीच एकता हुने अड्कलबाजी र त्यसका लागि केही गोप्य प्रयाससमेत भइरहेका बेला उनीहरू एउटै मञ्चमा देखिएका हुन् । दाहाल अहिले राजनीतिक सङ्कटको सामना गरिरहेका छन् । नेकपा एमालेसँग एकता गरेर माओवादी विलय गराएका दाहालले ओलीबाट धोका पाए ।
तत्कालीन एमालेकै नेता माधवकुमार नेपाल, झलनाथ खनालको साथ लिएर अहिले उनी प्रतिगमनविरुद्ध लडिरहेका छन् । यस्तो बेला पूर्व सहकर्मीहरूलाई सम्झिनु अन्यथा हुने कुरै भएन । तर इतिहासले अलग हुन दिँदैन भनेर के सन्देश दिन खोजेका हुन् ? के हामी फेरि पनि हामी एक हुन सक्छौँ भन्ने सन्देश हो ?
बाबुराम भने यस बारे खासै खुलेनन् । दाहालले आफ्नो पुरै सम्बोधन भट्टराईसँगको एकताका लागि जोड दिँदा भट्टराईले भने त्यसमा प्रवेश गर्न चाहेनन् । युद्धको अनुभवबारे बताउँदा बेलाबेलामा दाहालको नाम लिए पनि एकै ठाउँमा उभिन गरेको आग्रहलाई उनले महत्त्व दिएको देखिएन ।
‘जनयुद्ध’को महत्त्वमा उनी बढी केन्द्रित भए । प्रधानमन्त्री ओलीको संसद् विघटन असंवैधानिक कदम भएकोमा पनि उनले बढी समय खर्च गरे । ओली कदमविरुद्ध पछिल्लो पटक नयाँ पुस्ता सडकमा आएको र उनीहरूलाई ‘जनयुद्ध’को महत्त्व बुझाउन आवश्यक भएको भट्टराईले बताए । केही दिन पहिलेको एउटा भेटघाटले यसलाई बल भने दिन्छ ।
उपराष्ट्रपति निवासमा प्रचण्ड-बाबुराम वार्ता
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माघ ९ गते दुई नेताबिच भेटवार्ता भएको थियो । भेटवार्ताका साक्षी थिए उपराष्ट्रपति नन्दबहादुर पुन । उपराष्ट्रपति पुनको निवासमा दुई जनाबिच भेटवार्ता भएको थियो । भेटवार्ता बारे धेरै केही नखुलाइएको भए पनि सङ्कटका बेला दुई पूर्वमाओवादी नेताको भेटलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।
कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टीकरण दिएका थिए ।
उनीहरूबिच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ।
के पुनर्मिलन सम्भव छ ?
दाहालकै शब्दमा भन्ने हो भने राजनीति सम्भावनाको खेल हो । यसलाई पुष्टि गर्ने नेपालमा धेरै घटना भइसकेका छन् । नेपाली राजनीतिमा नसोचेका घटना हुन सक्छन् । विगतमा यस्ता थुप्रै घटना भएका छन् ।
दाहालबाट अलग्गिएर भट्टराईले नयाँ शक्ति पार्टी बनाएका थिए । वैकल्पिक राजनीति शक्ति बनाउने अठोटका साथ गठित नयाँ शक्ति पुरानै शक्तिजस्तो भयो । नयाँ शक्तिले पार लाउन नसकेपछि उनले उपेन्द्र यादवसँग एकता गरेर नयाँ शक्ति विलीन गराए । फोरम पनि अहिले अस्तित्वमा छैन ।
मधेस केन्द्रित राजनीति गरिरहेका राजपालगायतका दलहरू मिलेर अहिले जनता समाजवादी पार्टी बनाएका छन् । एकताले अहिले पनि पूर्णता पाइसकेको छैन ।
एकताले पूर्णता पाउने हो वा विगतमा टुक्रा टुक्रा बनेको मधेस केन्द्रित राजनीति फेरि त्यस्तै हुने हो केही टुङ्गो छैन । जसपामा अहिले पनि वरियता विवाद कायमै छ ।
यता दाहालको अवस्था पनि भट्टराईको भन्दा फरक छैन । जनयुद्ध गरेका माओवादी नेताले साथ छोड्दै गएपछि उनले उनी कमजोर भए । गत चुनावमा काङ्ग्रेससँग तालमेल गरेका दाहालले नतिजा सोचेजस्तो आएन ।
त्यसपछि उनले तत्कालीन एमालेसँग एकता गर माओवादी केन्द्र विलीन गराए । चुनावी नतिजा राम्रै आयो तर, एकता प्रक्रिया नसकिँदै पार्टी फुट्यो । अहिले एमालेकै केही नेताले साथ दाहाललाई साथ दिएका छन् ।
तर, त्यो कहिलेसम्म केही टुङ्गो छैन । नेकपाका दुवै समूहले अहिले आधिकारिकता पाएका छैनन् । एउटा समूहले आधिकारिकता पाए त्यहाँको समीकरण पनि फेरबदल हुनसक्ने सम्भावना उत्तिकै छ ।
दाहाललाई अहिले विश्वास पात्रको खाँचो छ । त्यसका लागि पनि उनी भट्टराईसँग नजिकिएको बुझ्न सकिन्छ । वैचारिक रूपमा दुवै नेताको तत्कालै मिलनको सम्भावना लगभग कम छ ।
तर, जसपा एकताले पूर्णता पाइ नसकेको र दाहालको दलले पनि निर्वाचन आयोगबाट आधिकारिकता पाइ नसकेको अवस्था छ । यस्तो अवस्थामा जसपा एकताले पूर्णता पाउन सकेन र दाहालले नेतृत्व गरेको नेकपामा पूर्व एमाले समूह हाबी हुँदै गएको खण्डमा प्रचण्ड-बाबुरामको पुनर्मिलन पनि हुनसक्छ ।