प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।
महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट बिहिबार मध्यान्ह पक्राउ गरेको थियो ।
कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले गिरफ्तारी दिएकी थिइन् ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सोधपुछका लागि प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।