बिहानको झन्डै ९ बज्न आँटिसकेको थियो रुमबाट करिब करिब २० मिनेटको पैदल यात्रापछि पुगिने भेडिगोठ ….
भेडिगोठको ताला चाबी आफ्नै खल्तीभित्र हुनुको बाध्यता बिच समयमा नै काममा पुग्नुपर्ने चटारोबि च सदाकै भित्री बाटोमा अलि लम्किरहेको थिए एउटा सानो चिटिक्क परेको साइकल र सानो साइकलमाथिको अनियन्त्रित पाइलटमाथि आँखा ठोक्किन पुग्यो ।
झट्ट पछाडिबाट हुत्तिँदै आँखा अगाडि बाटोको वल्लो छेउ र पल्लो छेउ गर्दै चलाई रहेको देख्दा कतै सिकारु पो हो कि जस्तो लाग्यो तर उसको चलाई देख्दा सिकारु जस्तो लागेन यति सोच्दा सोच्दै अनियन्त्रित भएर बिच सडकमा पल्टिन पुग्यो ।
हेर्दाहेर्दै झन्डै पछाडिबाट आएको कारले ब्रेक लगाएर ठक्करबाट बार बार बचाउन सफल भयो । भित्री एकतर्फी बाटो हुनाले सडक खाली नै थियो । उसको लवाई हेर्दा नेपाली हुनुपर्छ भन्ने सहजै अनुमान गरेर नजिकै पुगेर नेपाली दाइ हो भनेर सोधे तर जवाफ आएन मात्रै फुस्स बिहानै बिहानै पिएको रक्सीको बाक्लो गन्ध आइरहेको थियो ।
फेरि नेपाली हो भनेर अलि चर्को स्वरले बोलेको प्रतिगमन र जनताप्रतिको अपेक्षालाई बेवास्ता गरेका मेरै देशका नेताको लटपटिएको बोली झैँ हो भन्ने जबाफ आयो । सुन्दर मेरो देश नेपाल जस्तै चिटिक्क परेको साइकल तर बेसरम नेतृत्व जस्तै गन्हाएको साइकल चालक देखेर कम्ता रिस त उठेको थिएन तर आँखै अगाडि दुर्घटनाबाट बालाबाल बचेको देखेर थोरै दया, माया पनि लाग्यो ।
मनमनै सोचे- धेरै बाध्यता , केही रहर र केही बहाना देखाएर मैले झैँ उ पनि गन्हाएको राजनैतिक नेतृत्वलाई दुत्कार्दै विदेश भासिएको थियो होला । उसको पनि परिवार होला , बुढा बा आमा होलान् , उ आउने बाटो हेर्दै कुरेर बसेकी जीवन साथी होलिन् , बाबा आउने जहाज यही हो ममी भन्दै आकाशतिर फर्केर सोध्ने तोते बोलीका मेरो जस्तै छोराछोरी होलान् ।
आउँदा आमाको मजेत्रो फेर्ने सपना बोकेर नै आएको हुनुपर्छ उ पनि म जस्तै । तर हामी बिदेसिएका( चाहे युवा हौ वा चाहे चेलीबेटीहरू ) के हामीले हाम्रो सपना र सङ्कल्प कतै नसामा वा फगत स्वच्छन्दतामा त उडाई रहेका छैनौँ ? सुन्दर मेरो देश र चिटिक्क यो साइकलको आखिर के दोष थियो र जसलाई उसले बोकेर हिँडेको को छ उसले नै दोबाटोमा अलपत्र पारिरहेको छ ।
बरालिएको देशको राजनीतिले स्वदेशमा मात्रै नभएर बिदेसिएका हामी हजारौँ नेपाली साथीभाइ र चेलीबेटीहरूलाई पनि कतै प्रभाव त पारिरहेको त छैन ? चिटिक्क परेको साइकल र सुन्दर देशको पाइलटले संयमित , नियन्त्रित र चलाउन जान्दा गन्तव्यमा पुग्न सकिन्छ भनेर हेक्का राख्न सके न मेरो देश पछि पर्थ्यो न त कयौँ सपनाहरू बुनेर बिदेसिएको उ झन्डै झन्डै दुर्घटनामा पर्नुपर्थ्यो ।
समयको हतारोले गर्दा उसलाई उठाएर रुम कहाँ हो बिस्तारै हिँडेर रुम जानू भनेर बाटो कटाएर सुझाउनु भन्दा सङ्ग अर्को विकल्प पनि थिएन ।बाटोमा जाँदै गर्दा मनमा एउटै कुराले पिरोलिरह्यो – चिटिक्क परेको साइकल र सुन्दर मेरो देश यसरी पुन कहिल्यै दुर्घटना र प्रतिगमनले थिचिएर कुरूप बन्न नपरोस् ।
साइकलमाथि चढ्ने अहङ्कारी मान्छे र देशको बागडोर चलाउने बरालिएको राजनीतिक नेतृत्वको लापरबाही सच्चिएर सही दिशा समाउँदै सुखी , समृद्धि र खुसीको गन्तव्यमा पुग्न सकोस् । धन्य छ भगवान् उसलाई नयाँ जीवन दिएकोमा ।
यसरी नै ढलेको जनताको विश्वास , भरोसा र सब धानको पुनर्जीवन दिन अदालत र बरालिएको नेतृत्व सच्चिएर सफल हुन सकुन् । उसको, मेरो र हामी सबैको सपनाहरू पूरा हुन सकोस् । हामी सबैको कल्याण हुन सकोस् । सपनाहरू अधुरा हुन नपरोस् ।
जय देश
साउदी अरबबाट