बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि समाजमा एक प्रकारको डर र त्रासको वातावरण सृजना भएको छ । अभिभावकहरूमा बिहान स्कुल पढ्न पठाएको छोरी बेलुका घर फर्कने हो कि हैन ? भन्ने चिन्ताले सताउन थालेको छ । दिनानुदिन हुने गरेका बलात्कार र हत्याका घटनाले सिङ्गो समाज सशङ्कित र भयभीत अवस्थामा पुगेको छ ।
एउटा चेली आजका दिनमा न बनपाखामा सुरक्षित छ न विद्यालयमा । आफ्नो सुनौलो भविष्यको खोजीका निम्ति विद्यालय पुगेकी बालिका शिक्षकबाटै असुरक्षित महसुस गरिरहेकी छ भने दिनचर्या गुजार्नका निम्ति बनपाखा र खेतबारीमा पुगेकी बालिका गाउँकै दाजुभाइ नामक यौन पिपासुहरूको सिकार बन्न पुगेका छन् ।
निर्मला, सम्झना, भागरथीको बलात्कार पछि भएको हत्याकाण्ड त प्रकाशमा आएका केही प्रतिनिधि घटना मात्र हुन् । यहाँ दैनिक कैयौँ चेलीको अस्मिता लुटिन्छ । कतिको ज्यान लिइन्छ । तर, गाउँ, समाज र इज्जत जाने डरले घटना बाहिर नै आउँदैनन् । विभिन्न किसिमका प्रलोभन र डर धम्कीको आडमा यस्ता कैयौँ घटनाहरू अझै गुमनाम अवस्थामै छन्। दर्जनौँ निर्मला र सम्झनाहरू हरेक दिन बलात्कृत भएर बलिन्धारा आँसुमा जीवन व्यतीत गर्न बाध्य छन् । नेपाली सामन्ती समाज र राजनीतिमा अझै पनि बलात्कार र हत्याका मुद्धाहरु ठुलाठालुहरूले हैकम देखाएर पीडितलाई दबाउने प्रचलन पनि पुरानै हो ।
भागरथीको निधनले सामाजिक सञ्जालमा तरङ्ग नै मच्चाएको छ । दुई महिना अगाडी मात्र श्रीमान् गुमाएर छोरीको साहारामा बसेकी आमाले त्यही साहारा गुमाउँदाको पीडा कस्तो हुन्छ भन्ने हामी कल्पना पनि गर्न सक्दैनौँ । जसलाई दु:ख परेको हुन्छ उसले मात्र भोगेको हुन्छ असली पीडा ।
किन बढिरहेको छ समाजमा बलात्कार जन्य घटना, यसलाई न्यूनीकरण र नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने कुराले मेरो मनमा डेरा जमाएर बसेको छ । कहिले सम्म यस्ता घटनाको साक्षी बनेर बस्ने हामी ? अब त आवाज उठाउने बेला भएन र ? महिला राष्ट्रपति भएको देशमा दिनदहाडै छोरीको अस्मिता लुटिन्छ भने हामीले अरू बाट के अपेक्षा राख्ने ?
मैले यो कुरा लेखिरहँदा राष्ट्रपतिले बलात्कार गर्न उक्साएको हो र उहाँले के नै गर्न सक्नुहुन्छ र भन्ने प्रश्नहरूको पनि आउन सक्ला । केहिदिन अघि सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरेर आफ्नो नेता र कार्यकर्ताको बचाउमा मात्र हैन, भागरथीको न्यायको लागि पनि केही बोलिदिनुहोस् न भनेर लेख्दा मलाई धेरै साथीहरूले प्रधानमन्त्रीलाई यस घट्नामा जोड्न नमिल्ने तर्क दिएका थिए ।
राष्ट्रपति भनेको देशको प्रमुख ब्यक्ती हो । अझ भन्ने हो भने हामी नारीहरूको प्रेरणाको स्रोत नै हो । महिला राष्ट्रपति भएकै कारणले हामी नारीहरूको शिर उच्च भएको छ । राष्ट्रप्रमुख भएको नाताले म उहाँलाई आमा मान्छु र एक आमाले आफ्नो छोरीको रक्षाको लागि बोल्नु पर्छ भन्ने मेरो चाहाना हो ।
मैले बोल्नु र उहाँले बोल्नुमा धेरै फरक छ । उहाँले बोलेका कुराहरू सबैले सुन्छन् । मनन गर्छन् र व्यवहारमा लागु पनि गर्छन् । साइबर सेनाका साथीहरूले भने जस्तै यस्ता घटनामा उहाँको केही हात छैन तर पनि आफ्नो छोरीहरूको रक्षाका लागि बोल्न त सक्नु हुन्छ । फेरि फेरि यस्ता घटना नदोहोरियोस् भनेर विभिन्न कार्यक्रमहरू गरेर जनचेतना अभिवृद्धिका कार्यक्रमहरू त ल्याउन सक्नुहुन्छ नि हैन ? एक कल फोन गरेर भागरथीको आमालाई सान्त्वना त दिन सक्नु हुन्छ नि हैन ? फेरि फेरि यस्ता घटना नदोहोरियोस् भनेर कदम चाल्न त सक्नुहुन्छ ।
सामाजिक सञ्जालहरू हेर्दै जाँदा राष्ट्रपतिलाई बलात्कारको विषयमा आवाज उठाएर यसलाई न्यूनीकरण र नियन्त्रणका लागि कदम चालिदिनुहोस् भन्ने धेरै अभिभावक भेटेको छु तर सामाजिक सञ्जालमा हामीले लेखेकै कारण उहाँले सुन्ने कुरा पनि हुँदैन ।
बालबालिका बलात्कार र हत्याविरुद्ध प्रमुख भूमिका खेल्नुपर्ने निकाय पनि चुप छ । जनताको अधिकार सुनिश्चित गराउन नेतृत्वमा पुगेका दलीय नेताहरू नै यस खाले घृणित अपराध कार्यमा संलग्न अपराधीहरूलाई जोगाउने चलखेलमा लागेका समाचार पनि सार्वजनिक हुने गरेका छन् । राष्ट्रप्रमुख भएको नाताले तपाईले यस्ता कदमलाई रोक्न सक्नुपर्छ । अपराधी नफुत्कियोस् र अपराधीलाई कडा भन्दा कडा कारबाही गरियोस् भनेर आदेश दिन तपाईलाई के ले रोक्यो ?
यी र यस्ता विषयलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने र सो अनुसारको सशक्त सम्बोधन गर्नुपर्ने अपरिहार्यता भइसकेको छ । बढ्दो बालिका हिंसाका समाचारले अब राज्यबाट गरिनुपर्ने पहलमा कुनै ढिलाइ गरिन नहुने अवस्था इङ्गित गरेको छ ।
केही समय अघि रामकुमारी झाँक्रीले बोलेको कुरालाई लिएर देशमा नै एक खालको तरङ्ग नै भयो । एक महिलाको विरुद्धमा नराम्रो बोलेको भरमा उनलाई कारबाहीको माग गर्ने राजनीतिसँग आबद्ध विभिन्न सङ्घसंस्थाहरू अहिले चुप लागेको देख्दा भने अचम्म लागेको छ । राष्ट्रपतिको मानमर्दन भयो भनेर गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाने अखिल नेपाल महिला सङ्घका नेतृहरू किशोरी बलात्कृत हुँदा मौन बस्नुले नै अनेक प्रकारका कुराहरू मनमा उब्जन्छन् । यस्ता क्रूर, निर्मम र मानवीय संवेदनाहीन असंख्यक घटनाले नेपालको प्रहरी, प्रशासन र राज्य सत्तालाई नै बारम्बार चुनौती दिइरहँदा पनि पीडितलाई न्याय र पिडकलाई दण्डको व्यवस्था अझै हुन सकेको छैन ।
मलाई राष्ट्रपति ज्यूले नारीको लागि बोलिदिनुभएन भनेर मात्र गुनासो छैन । मसँग गुनासाका अनेकन् पोकाहरू छन् जसलाई फुकाउन धेरै समय लाग्न सक्छ । कुर्सी र सत्तामा लिप्त भएर हामी यहाँ छौँ भन्दै आन्दोलन गर्ने कामरेडहरुले बलात्कार पछि हत्या भएकी किशोरीको बारेमा नबोल्दा पनि दु:ख लागेको छ । पद र पावरमा भएका व्यक्तिहरू नै निरीह भएर बसे पछि हामीले को बाट अपेक्षा गर्ने ? आन्दोलन गर्न लाखौँ मानिस भेला पार्न सक्ने क्षमता भएका हजुरहरूले तिनै मानिसहरूलाई उचित शिक्षा संस्कार दिन सक्नुहुन्न ?
सूर्य थापा, विष्णु रिमाल, गोकुल बास्कोटा देखि लिएर भारतका पत्रकार सुधीर चौधरीको बचाउमा बोल्न नहिचकिचाउने मान्छे, छोरी चेलीको जीवन रक्षाको लागि किन बोल्नुहुन्न प्रधानमन्त्रीज्यू ? महिला आयोग, महिलाको पक्षमा बोल्ने विभिन्न सङ्घ संस्थाहरूको काम के ? सधैभरि एउटा बुबा आमा मेरो छोरी फर्किन्छे कि फर्किन्न भनेर पीडामा बाच्नु ?
यौन बलात्कारमा परेका महिलाहरू खुलेर आफ्नो समस्या बताउन सक्दैनन् । के हामी उनीहरूको रक्षक बन्न सक्दैनौँ ? उनीहरूलाई न्याय दिलाउने अनुभूति दिन सक्दैनौँ ? उनीहरूलाई न्याय दिएर समाजमा हुने यस्ता कुरीतिको विरुद्ध बोल्न सिकाउन सक्दैनौँ ?
आफ्नो जीवनमा आइपरेका दुर्भाग्यपूर्ण अनुभव भएको र यसले शारीरिक, भावनात्मक र आध्यात्मिक रूपले क्षतविक्षत भएका महिलालाई पूर्ण रूपमा पहिलेको अवस्थामा आउन आफूभित्रबाट बलियो हुन र आफूलाई माया गर्न सिकाउन सक्दैनौँ ?
र अन्त्यमा म देशको प्रमुख राष्ट्रपतिलाई आग्रह गर्छु । बलात्कारी र हत्यारालाई कडा भन्दा कडा कारबाही होस । कोही पनि नारी यस्ता समस्याबाट पिल्सिनु नपरोस् ।