बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको स्पष्ट भएको हो। पछिल्लो एक हप्तामा भएको यो जघन्य अपराध हो ।
यसमा संलग्न अपराधीलाई प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यही अवधिमा बलात्कारका अन्य थुप्रै घटना भएका छन् । माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन् । बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन् ।
सौतेनी बाबुबाट बलात्कृत काठमाडौँको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवन मरणको सङ्घर्षमा छिन् । गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीय युवतीको हत्या प्रयास भएको थियो ।
युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । दाँतहरूसमेत फुटेका छन् ।
यी त प्रकाशमा आएका केही प्रतिनिधि घटना हुन् । यहाँ दैनिक कैयौँ चेलीको अस्मिता लुटिन्छ । कतिको ज्यान लिइन्छ । तर, गाउँ, समाज र इज्जत जाने डरले घटना बाहिर नै आउँदैनन् ।
बलात्कारीहरू अपराधी हुन् र तिनलाई कानुन बमोजिम कारबाही हुनुपर्छ । तर अफसोच, अपवादबाहेक अपराधीलाई कानुनको कठघरामा आउँदैनन् ।
समाजमा दिनप्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार बलात्कार वा प्रयासका दैनिक सात घटना दर्ता हुने गरेका छन्। चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । अझै डरलाग्दो कुरो त के छ भने पीडितमध्ये आधा बालिका छन्।
किन बढिरहेछ बलात्कार ?
बाबुले छोरीलाई, काकाले भतिजीलाई, शिक्षकले विद्यार्थीलाई, छिमेकीले छिमेकीकै छोरी चेलीलाई….यस्तै बलात्कारका घटना दैनिक सार्वजनिक भइरहेका छन्। कलिला नानीसमेत बलात्कारको सिकार भएका छन् । बुढी आमाहरूसमेत बाँकी रहेनन् । आखिर किन ?
बलात्कारका घटना बढ्नुका धेरै कारण हुन सक्छन् । पहिलो त कानुनको प्रभावकारी कार्यान्वयन नहुनु पनि हो । बलात्कार, बलात्कार प्रयास वा यौन दुर्व्यवहार मात्रै भए पनि कानुनमा कडा कारबाहीको व्यवस्था छ । तर कतिपय बलात्कारका घटनाका दोषी नै पत्ता लाग्दैनन् । निर्मला प्रकरण यसको एउटा उदाहरण हो । यस्ता कयौँ घटना छन् ।
कानुनमा जेजस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरीह छ । अपराधी नै पत्त नलागेपछि कारबाहीको कल्पना फगत हुन्छ । एक बलात्कारी जब एउटा बलात्कारमा सफल हुन्छ उसमा अर्को बलात्कार गर्ने रहर विकास हुन्छ ।
ऊ जति पटक सफल बलात्कार गर्दै जान्छ उसमा पुन बलात्कार गर्ने मनोवैज्ञानिक आदत विकास हुन्छ । यसले पनि बलात्कारका घटनामा वृद्धि भएको मान्न सकिन्छ ।
अर्को कारण हो नेपाली समाजमा यौनलाई यति गोप्य बनाइनु । यौनका कुरा गरे मात्रै पनि ‘नैतिक हीन भन्ने आक्षेप लगाउन थालिन्छ । यही कारण मानिसले मनमा यौन कुण्ठा बढ्छ । निकास नपाउँदा बलात्कार, यौनजन्य हिंसा आदि विभिन्न रूपमा विकास हुन्छ । हामी पितृसत्तात्मक सोच र प्रवृत्तिबाट निर्दिष्ट छौँ । मर्दकी दश वटी श्रीमती भन्ने सामाजिक आहान यसैको उत्पादन हो । यसले पनि कहीँ न कहीँ बलात्कारका घटना घटाउँछ ।
यौनमा जति बन्धन खडा गर्यो, त्यति नै यो पासो बन्दै जान्छ । यौन शिक्षा, यौन सचेतनाका विषयमा घर परिवार र समाजमा खुला छलफल हुन जरुरी देखिन्छ ।
समाज र देशको हरेक मुख्य निर्णायक भूमिकामा पुरुष हाबी हुनु अपराधका घटनाहरू वृद्धि हुनुको अर्को कारण हो ।
महिलाहरू बलात्कारपश्चात् प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । अझै धेरैजसो निकायमा महिला सेल छैन । भएका पर्याप्त छैनन् ।
कतिपय अवस्थामा प्रहरीहरूले पीडितको बयान विश्वास नगर्ने र उजुरी नै नलिने गरेको समेत छ । राजनीतिक संरक्षण, सत्ता र शक्तिको चरम दुरुपयोग बलात्कारको घटना वृद्धिको अर्को कारण हो ।
नेपालमा भएको सञ्चारको विकास र यसको दुरुपयोग बलात्कार हुनुको अर्को कारण हो । हरेक व्यक्तिको मोबाइल इन्टरनेटमा पहुँच, पोर्न फिल्महरूको लत र त्यसको अनुसरणले महिलाहरू बलात्कृत हुन पुग्छन् । त्यस्तै, सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका खराब मानिसहरूसँग साथी बन्ने, मनोभावना र नियत नबुझीकन हुने एक अर्काको आकर्षणले पनि यस्ता घटनाहरू घट्ने गर्छन् ।
विभिन्न अध्ययन प्रतिवेदन, आलेख र विचारका आधारमा
नोट : हामीले ७ दिनसम्म बलात्कार विरुद्ध ७ वटा स्टोरीहरु प्रकाशित गर्नेछौं । आज दोस्रो दिन हो । तपाइलाई पनि बलात्कार विरुद्ध केही लेख्न मन छ भने हामीलाई [email protected] मा पठाउन सक्नुहुन्छ ।