नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ ।
भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।
गण्डकी प्रदेश मुलुककै सबैभन्दा बढी भूपू सैनिक रहेको क्षेत्र हो । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा प्रदेशगतरूपमा एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ । सेनाले उनीहरुको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वारोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।
मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ । यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुनेछ ।
हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ ।