नयाँ चालक अनुमति पत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।
गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमति पत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झन्डै १० महिनासम्म अनुमति पत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको बताइएको छ । अहिले सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरू पनि बन्द भएका थिए । कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमति पत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमति पत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमति पत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबिचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमति पत्र खुलाइएको थियो ।
संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरू नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमति पत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ । कार्यालयहरूले अनुमति पत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चाबहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् ।