अमेरिकाका खेलाडी जो पैटेर्नोले भनेका छन्,’सम्मान बिनाको सफलता नुन बिनाको तरकारी जस्तै हुन्छ । तपाईँको भोक त मेट्न सक्छ । तर, तपाईँले स्वाद भने पाउन सक्नुहुन्न ।’
हरेक मानिसले आफूलाई अरूले सम्मान गरुन् भन्ने चाहन्छन् । कोही पनि अरूबाट अपमानित हुन चाहँदैन वा अरूले हेयको दृष्टिले हेरेको रुचाउँदैन ।
अहिले इन्टरनेटले कब्जा जमाएसँगै सामाजिक मान्यताहरूमा एवं जीवनशैलीमा तीव्र परिवर्तन आइरहेको छ । जसका कारण पुरातन मान्यताहरूको उपेक्षा भइरहेको छ । र समाजमा पारिवारिक संस्कार र संस्कृतिहरू भत्किन थालेका छन् ।
२०७६ साल असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताका पर्खालका भ्वाङ भत्काएर सम्मान गर्न छाडेको आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अङ्ग्रेजीको ‘यु’ र अर्काको एउटा ‘यु’ भन्ने शब्द लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्छ ।’
‘पैसावाला, डलरवाला, युरोवालाहरू ‘यु’ ले काम चलाउँछन्, किन काम नचल्ने र सभ्यता त त्यो रहेछ’ भन्ने भ्रम परेको छ । सानालाई तिमी र ठुलालाई तपाईँ भन्ने स्वाभाविकै हो । भाषा, समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ । मर्यादा हुन्छ । तर हामी त्यो बिर्सन खोज्दै छौँ ।’
उनले प्रधानमन्त्री तथा राष्ट्रपतिलाई मिडिया हाउसहरूले तिमी भनेकोमा गुनासो मात्र गरेनन् आफूले सम्मान नपाएको अनुभूति गरेको समेत उल्लेख गरे ।
ओलीले भने जस्तै ठुलालाई आदर सम्मान र सानालाई माया गर्नुपर्छ भनेर हामीले सानै देखि सिक्दै आएका छौँ । हो म सानालाई माया र ठुलालाई सम्मान गर्छु । अरूलाई सम्मान गर्दा आफूले पनि सम्मान पाइन्छ भन्ने कुरा मेरो मनमा गढेर बसेको छ । तर के भनेर सम्बोधन गर्दा सम्मानित भएको महसुस हुन्छ भन्ने कुरा मैले आजसम्म पनि बुझ्न सकेको छैन ।
बुढालाई के भनेर सम्बोधन गर्ने भनेर धेरै बहसहरू भएका छन् । तर के भनेर सम्बोधन गर्दा सम्मानित महसुस हुन्छ भन्ने कुरा मैले आजसम्म पनि बुझेको छैन ।
सबैलाई सम्मान गर्नुपर्छ, अरूलाई सम्मान गर्दा आफू पनि सम्मानित भइन्छ भन्ने कुरामा म विश्वस्त छु । तर पनि धेरै ठाउँमा नराम्रोसँग चुकेको छु । र धेरै पटक सम्मान नगरेको ट्यागहरू पनि भिरेको छु ।
स्कुल लाइफमा सबैलाई तँ र तिमी भनेर सम्बोधन गरे पनि कलेज लाइफमा एकाध साथी बाहेक सबैलाई तपाई भनेर सम्बोधन गरे । राम जी, हरि जी, लक्ष्मण जी, प्रकाश जीलगायत भनेर सम्बोधन गर्ने बानी परेकोले होला झापाबाट काठमाडौँ आएपछि पनि सबै साथीहरूलाई तपाई नै भनेर सम्बोधन गरे ।
धेरैले त्यो नयाँ आएको केटीले तपाई भन्छे भनेर गिज्याए पनि आफ्नो लागेको बानी हटाउन लामै समय लाग्यो । त्यसपछि आफूसँगै पढ्ने समकक्षी साथीहरूलाई तपाई भनेर सम्बोधन गर्नु नहुने रहेछ भनेर मनमा पर्यो र बिस्तारै तपाईबाट तिमी तिर सरे ।
समय बित्दै गयो, अन्यौलता थपिँदै गयो । आफुपनि बाल्यावस्था, किशोरावस्था हुँदै युवावस्थामा प्रवेश हुँदै गइयो । कसलाइ के भनेर सम्बोधन गर्ने भन्ने कुराको अन्याैलताले मनमा डेरा जमाइरह्यो । केटाहरुलाई भाइ भनेको मन पर्दैन रे भनेको त कत्ति सुनियो कत्ति । तर आफूभन्दा सानालाई त कसरी दाइ भन्नु हौँ ! फेरि केटीहरूले सधैँ आफ्नो उमेर घटाउन चाहन्छन् भन्ने हल्ला बजारमा गाइँगुइँ सुन्न पनि त पाइन्छ !
नामको पछाडी ‘जी’ जोडेर बोलाउने धेरै सम्मानित शब्द हो भनेर मनमा परिरह्यो । पत्रकारिताका सुरुवाती दिनमा आफूभन्दा धेरै ठुला लाग्नेलाई दाइ/दिदी र आफ्नै उमेर समुहका लाग्नेलाई ‘जि’ भनेर सम्बोधन गर्न थाले । दाइ-दिदी भन्दा अझै पनि बच्चै हुँ जस्तो गर्छे भन्छन् कि भन्ने तनाव ! निधारमा उमेर लेखेको भए त्यही अनुसार दाइ या दिदी भनेर सम्बोधन गर्थे भन्ने मनमा परिरह्यो ।
एक वर्ष अघिकाे कुरा हाे ।
एक दैनिक पत्रिकामा काम गर्न पुगे । लामो समय काम गर्ने, त्यहाँबाट धेरै कुरा सिक्ने अभिलाषा थियाे । पुरै जोस र जाँगरका साथ काम गर्न थाले । त्यहाँ पनि कसलाइ के भनेर सम्बोधन गर्ने भन्ने अन्याैलतामा भयाे । त्यहाँ हामी सबै एउटै उमेर समूहका थियौँ । त्यसैले मैले सबैलाई ‘जी’ भनेर बोलाउने निर्णय गरे । र, त्यही अनुरूप चल्न थाले । मैले त्यहाँ पार्ट टाइम मात्र काम गरेको हुनाले साथीहरूसँग साँझको समयमा मात्र भेट हुन्थ्यो ।
म आफ्नो काम गरेर फर्किने गर्थे । पछि त साथीहरूले मालिक समक्ष मैले सम्मान नगरेका गुनासाहरू पुर्याउन थाल्नु भएछ । मसँग रिसाउने, मेरो अनुपस्थितिमा मेरो कुरा काट्ने र मैले लेखेको समाचारलाई गलत दाबी गर्न हरसम्भव प्रयासरत हुनुभयो । उहाँहरू म विरुद्ध लाग्नुको एउटै मात्र कारण रहेछ मैले ‘सर’ भनिन ।
त्यसपछि म सबैलाई सर भन्ने निष्कर्षमा पुगे । दाजु/भाइ भनेर सम्बोधन गर्न उमेर थाहा नहुने, जी भनेर सम्बोधन गर्दा अन्यत्र अर्थ लाग्छ भन्ने साथीको सुझाव अनुसार म सबैलाई सर र म्याम भन्ने निष्कर्षमा पुगे ।
र, सबैलाई सर/म्याम भन्न थाले ।
मैले सर भन्न थालेको पनि एक वर्ष पुरा भइसकेको छ । सबैलाई सर र म्याम भन्दा म आफै पनि सन्तुष्ट थिएँ । सबैलाई सम्मान गरेको महसुस भइरहेको थियो । तर, एक्कासि झड्का त्यति बेला लाग्यो, जति बेला मैले ‘सर’ भनेर सम्बोधन गरेको बेलामा ‘मैले तपाईँलाई कहिले पढाएकाे थिएँ र सर भएँ ? दाइ भन्न आउँदैन ?’ भन्ने जवाफ पाएँ । के भनाै, कसो गराै भयाे । यो जवाफ पनि तीन, चार जनाबाट पाए पछि सर भन्न पनि हच्किन थाले । र, फेरि उस्तै अन्याैलमा नै छु । कि ‘के भनेर सम्बोधन गर्दा सम्मान गरेको हुन्छ ? कुन शब्दको प्रयोग गर्दा सम्मानित भइन्छ प्रधानमन्त्री ज्यू !