
नायिका सुष्मा कार्कीले आफूमाथि कुट पिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिएको छ ।
बुधवार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा पत्रकार उत्सव रसाइली र श्वेता खड्काकी बहिनी आरती खड्काले नायिका कार्कीसँग माफी मागेपछि विवाद टुङ्गिएको हो ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नायिका सुष्मा कार्कीले गल्ती गरेपछि माफी माग्नुपर्ने बताइन् । उनले भनिन्, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरूले सरी भन्नुभयो, मैले उहाँलाई क्षमा दिएँ त्यति नै हो ।’
यस्तै पत्रकार उत्सव रसाइलीले आफूहरूबिच नहुने पर्ने घटना भएको बताउँदै नायिका कार्कीप्रति भएको घटनामा क्षमा मागेका छन् । नायिका कार्कीलाई चोटपटक पनि लागेको जानकारी दिँदै पत्रकार रसाइलीले शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले आगामी दिनमा वादविवाद, दुर्घटना र भनाभन नगर्ने सहमति भएको सञ्चारकर्मीलाई बताए ।
उनीहरूबिच सोमबार राति काठमाडौँको लन्डन पबमा विवाद भएको थियो । विवादपछि उत्सवले गालीगलौज गरेको र आरतीले सुष्मामाथि कुट पिट गरेका थिए ।