परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताका लागि नेपालमा हालसम्म नभएका काम गर्न सफल भएको बताएका छन् ।
उनले वर्तमान सरकारले नै गुमेको भूमि फिर्ताका लागि पहल गरेर सबैभन्दा बढी राष्ट्रवादी काम गरी नेपाल र नेपालीको शिर ठाडो पारेको तर्क गरे ।
बाँकेको जानकी गाउँपालिकामा बुधबार भूमि समस्या समाधान एकाइ कार्यालयको उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले देश र जनताका लागि गरेका विकास निर्माणका उल्लेखनीय काम तथा त्यसको लोकप्रियतालाई देखिसहन नसक्नेले विरोध गरिरहेको बताए ।
उनले यही सरकारले नै पहिलो पटक आफ्नो भूमि फिर्ता लिने प्रक्रिया सुरु गरेको तथा आफ्ना दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध पनि सबैभन्दा राम्रो बनाउन सफल भएको बताए ।