विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ ।
अमेरिकामा दुई करोड ६० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख ३५ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । तर, अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको उनले स्वीकारे ।
अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताए ।
कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख ६९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । ७ करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।
कोरोना भाइरसको संक्रमणमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म १ करोड ६९ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने १ लाख ५३ हजार ७५१ जनाले ज्यान गुमाइसकेका छन् ।
ब्राजिलमा झण्डै ९० लाख संक्रमित हुँदा २ लाख १८ हजार ९१८ जनाले ज्यान गुमाइसकेका छन् ।