अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको मलेनीमा रहेको गार्डनर्स फल्समा पौडी खेल्नका लागि हाम्फालेका एक नेपालीको डुबेर मृत्यु भएको छ ।
ती नेपाली पानीभन्दा केही माथि चट्टानबाट पानीमा हाम्फालेका थिए ।
पानीमा हाम्फालेपछि उनी हराएका थिए र १० मिनेटसम्म देखिएका थिएनन् ।
प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै एबीसी न्यूजले लेखेअनुसार उनी १० मिनेटपछि एकपटक सतहमा देखिएका थिए र फेरि डुबेका थिए ।
कार्यवाहक इन्स्पेक्टर जोन माहोनीका अनुसार उनलाई राम्ररी पौडिन आउँदैन थियो ।
उनी मंगलबार बेलुकी स्थानीय समयअनुसार ५ बजे डुबेको बताइएको छ । उद्धारकर्ताहरुले बेलुकी करिब ८ बजेतिर उनको शव फेला पारेका थिए ।
करिब ४० वर्षका ती नेपाली करिब १८ महिनादेखि अस्ट्रेलियामा बस्दै आएको बताइएको छ । उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ ।
उनी नेपाली हुन् भन्ने खुलेपछि उनको नाम र थप विवरण खुलाइएको छैन ।