प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् ।
पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भयो ।’
पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए ।
सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाईदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।