केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको छ ।
विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको हो ।
सुपरिवेक्षक पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण र ४० वर्ष ननाघेको हुनुपर्नेछ भने गणकको लागि प्लस टू उत्तिर्ण भई १८ वर्ष पुगेको तर ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ । २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाई छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत गणना गरिने उनले बताए ।
अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । विभागका अनुसार बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुनेछ ।