कानूनी रूपमा सत्तारुढ नेकपा अलग भएको छैन । सत्ताको बागडोर उसकै हातमा छ । सडकमा पनि उसकै कार्यकर्ता छन् । दुवैले आधिकारिकताको प्रमाण पत्र मुखमा झुण्ड्याएका छन् । आधिकारिक नेकपा कुन ? यसको निर्क्यौल निर्वाचन आयोगले गर्ला नै ।
दुइ तिहाइ करिब बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे । विघटनको कदम असंवैधानिक भनेर चौतर्फी विरोध भइरहेको छ । यसको छिनोफानो पनि अदालतले गर्छ नै । संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।
तर ओलीको कदम असंवैधानिक र संविधानविपरीत भन्दै नेकपाकै एउटा समूहले सडक तताइरहेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको समूहले शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । लाखौं कार्यकर्ता सडकमा उतार्ने दाबी गरेको समूहले राजधानी वरिपरिका जिल्लाबाट मानिसहरू ओसार्यो । काठमाडौंमा बेराजगार कार्यकर्ता छँदै थिए । गाउँबाट सोझा नागरिकलाई पनि राजधानी टेकाइयो । प्रदर्शनकारीको संख्या लाख पुग्यो कि पुगेन ? उनीहरूले नै हिसाब गरुन् । यो आम सरोकारको विषयमा पनि होइन ।
दिनभरिको दौडधुपले आखिर के प्राप्त गर्यो ? के ओलीले प्रतिगमन सच्याए ? के आयोगले आधिकारिकता दियो ? के अदालतले फैसला सुनायो ? अह ! केही पनि भएन । दिनभर शक्ति देखाएका कार्यकर्ता साँझ भोकले शक्तिहिन भएर फर्किए ।
प्रदर्शनका कारण आम मानिसहरूको दैनिकी भने अस्तव्यस्त बन्यो । बिहानैदेखि राजधानीका विभिन्न रुटमा सार्वजनिक सवारी निषेध गरियो । गन्तव्यमा हिँडेका हजारौं यात्रु ठाउँका ठाउँ अलपत्र परे । सडकमा दाहाल–नेपाल समूहका कार्यकर्ताले ताण्डव देखाए । सडकलाई रंगमन्च बनाए । प्रतिगमनविरुद्ध पैदल हिँडे । सडकलाई पदमार्ग बनाए ।
प्रतिगमनविरुद्धको जन्ती निस्कियो । बाजागाजाले सडक गुन्जियो । नारा जुलुसले कान थर्कियो ।
कलंकी, कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर जडिबुटी रत्नपार्क, लैन्चौर, बालाजु, बसपार्क…… सुन्नै पाइएन ।
सडकमा गुड्ने हजारौं सवारी कता राखियो ? यात्रुलाई मिलेर बस्नुस् भन्ने दाजुभाइहरू कता बसे ? काम, कार्यालय, अस्पताल हिँडेकाहरू कता पसे ? विचरा भूइमान्छेहरूको कसले हिसाब गरोस् ।
प्रतिगमनविरुद्धको जन्ती अन्नतः भृकुटीमण्डव पुगेर सभामा परिणत भयो । समूहका अध्यक्ष दाहाल–नेपाल चिच्याए । किचलोको कारण सुनाए । समाजवादका सपना देखाए । समृद्धि ल्याउने बाचा गरे । घोषणा पत्र सम्झिए ।
अदालतलाई जनमत देखाए । कोभिडबाट आक्रान्त नेपाल र नेपाली सम्झिए ।
झलनाथ खानाल र नारायाकाजीहरूले पुराण सुनाए ।
ओलीलाई घुडा टेकाउने उद्घोष गरे । प्रतिगमन सच्याउने जिकिर गरे । आधिकारिकताको प्रमाणपत्र बाँडे । आफूलदाई असली कमरेड देखाए । ओलीलाई भगौडाको बिल्ला भिराए । गणतन्त्र र संघीयताविरोधीको ट्याग लगाए ।
संसद् पुनर्स्थापना हुने आशाको त्यान्द्रो देखाए ।
निर्वाचन आयोगलाई बाटो देखाए । अदालतलाई न्याय सिकाए । ऐन सम्झाए र संविधान पढाए । ओलीको हुर्मत लिए । सत्ता र शक्तिको ढाडस देखाए ।
कम्युनिष्ट आन्दोलन सम्झिए । संविधान र लोकतन्त्र पढाए । त्याग र तपश्याको बखान सुनाए ।
तर भूईँमान्छेलाई कसले सम्झियोस् । अस्पताल हिँडेका बिरामी उपचार गर्न कता गए ? १० बजे कार्यालय हिँडेका कर्मचारी कति बजे कार्यालय पुगे । कतिले हाकिमको गाली खाए ? कतिले आधा दिनको पारिश्रमिक पाए ? यसको हिसाब कसले गर्ने ? यिनका विषयमा कसले बोल्ने ? उनीहरूले बोलेनन् । बोल्न आवश्यक ठानेनन् ।
नेताका कुरा सुनेर यताका दर्शकले थपडी बजाए । चिसोमा हात तताए । चिच्याए, कराए र निन्द्रा भगाए ।
दिनभरिको दौडधुपले आखिर के प्राप्त गर्यो ? के ओलीले प्रतिगमन सच्याए ? के आयोगले आधिकारिकता दियो ? के अदालतले फैसला सुनायो ? अह ! केही पनि भएन । दिनभर शक्ति देखाएका कार्यकर्ता साँझ भोकले शक्तिहिन भएर फर्किए ।
आम मान्छेले दुःख पाए । जनजीवन अस्तव्यस्त भयो । कार्यकर्ताको एक दिन ध्वस्त भयो ।