मम सेन्टर (पसल)बाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको आरोपमा भक्तपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-१ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर मम सेन्टरबाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा ३० वर्षीया राजकुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर गोदावरी नगरपालिका-६ फैडोल डेरा गरी बस्ने रामेछाप मन्थली घर भएका धामी सोही मम सेन्टरमा काम कामदार हुन् ।
माघ ३ गते बेलुका दधिकोट डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-८ घर भएका ३१ वर्षीय शंखर खत्रीको सो मम सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको नगद चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न धामीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
साथै उनको साथबाट नगद ३० हजार रुपैयाँ, १ थान ‘ईलोसन’ लेखिएको वूफर सेट, १ थान दुई तोला चाँदीको ब्रासलेट, १ थान आधी तोला सुनको तिलहरी र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका धामीउपर जिल्ला अदालत भक्तपुरबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।