भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ ।
केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।
त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
पहिलो चरणमा आएको यो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई उपलब्ध गराइनेछ।
पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।