लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ ।
रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् ।
बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् ।
उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
उनले सामाजिक संजाल फेसबुकमा भावुक हुँदै लेखेका छन् भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ।
यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।