चीनले भारतको अरुणाचल प्रदेशमा १०१ घरसहितको बस्ती बसाएको छ। चीनले भारतको साढे ४ किलोमिटर जमीन अतिक्रमण गर्दै बस्ती बसाएको भारतीय संचारमाध्यम एनडीटीभीले जनाएको छ ।
भूउपग्रहले खिचेको तस्बिरहरुमा पनि चिनियाँहरुले बस्ती बसाएको प्रस्ट देखिएको जनाइएको छ। चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएको अप्पर सुबानसिरी जिल्लास्थित सारी सु खोलाको किनारमा निर्माण गरिएको छ।
गतवर्षको जुन महिनामा भारत र चीनका सेनाबीच विवादित मानिएको गलवान उपत्यकामा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।
उक्त समयदेखि चर्किएको सीमा विवाद हालसम्म समाधान भएको छैन। यस क्रममा फेरि भारतको अरुणाचल प्रदेशमा चीनले सीमा मिचेर बस्ती बनाएको खबर आएको छ। यस कार्यले थप द्वन्द्व चर्किने अनुमान गरिएको छ।
लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।