साउदी अरेबियाको मरुभूमि क्षेत्र र अफ्रिकाको साहारा मरुभूमि हिउँको पत्रले ढाकिएका छन् ।
डेलीमेलको रिपोर्टअनुसार अहिले मरुभूमि क्षेत्रको तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको छ ।
साहारा मरुभूमिको बालुवामाथि जमेको हिउँको पत्रका तस्वीरहरु अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।
मरुभूमिमा भएको दुर्लभ हिमपातको दृश्य हेर्न अहिले बाहिरबाट पर्यटकहरु पनि आएका छन् । सामान्यतया मरुभूमिमा हिमपात नहुने भएकोले यो हिमपातलाई निकै दुर्लभ दृश्य मानिएको छ ।
साहारा मरुभूमिको अइन सेफरालाई मरुभूमिको प्रवेशद्वार पनि भनिन्छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यो क्षेत्र एटलस पहाडले घेरिएको छ । साहारा मरुभूमि उत्तरी अफ्रिकाको अधिकांश क्षेत्रमा फैलिएको छ ।
उता साउदी अरेबियाको असीर प्रान्तमा भएको हिमपातलाई लिएर यहाँका स्थानीयले उत्सुकता र खुसी व्यक्त गरेका छन् । रिपोर्टका अनुसार यो क्षेत्रमा करिब ५० वर्षपछि यति न्यून तापक्रम रेकर्ड गरिएको हो ।
दक्षिण पश्चिमी क्षेत्रमा तापक्रम माइनस २ डिग्रीमा झरेको छ । जनवरी महिनामा यस क्षेत्रमा तापक्रा आम रुपमा १२ डिग्री सेल्सियस रहन्छ र गर्मीमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्छ । यहाँ रातमा चिसोमा परेको हिउँ दिनमा पग्लिएर जान्छ ।