लकडाउनले नेपाली फिल्म उद्योगलाई अव्यवस्थित नै पार्यो । कोरोना पछि हलहरु खुले पनि हलसम्म दर्शक पुग्न सकेका छैन्न । यो वर्ष जम्मा ३ ओटा चलचित्र मात्र रिलिज हुने तयारी भइरहेको छ भने कलाकारहरु म्यूजिक भिडियोको भरमा बाचिरहेका छन् ।
अहिले फिल्म निर्माण भने तिब्र गतिमा भइरहेका छन् । चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिएका थिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे ।
चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘हिमानी’ राखिएको छ । विकास बोर्डमा नाम दर्ता भैसकेको यो चलचित्रको छायांकन चैत्रबाट सुरु गरिने माधवले बताए । उनले भने–‘यो महिला केन्द्रित चलचित्र हो । यसमा प्रेम, रोमान्स र सस्पेन्स सबै समावेश हुन्छ ।’