करिब ९० सेकेन्ड हावामा उडेर धुलिखेलको खावा स्टेसनमा उत्रिएकी काठमाडौंकी गीताले भनिन्, ‘वाह क्या मज्जा ! एकपटकले त चित्त नै बुझेन, फेरि एकपटक चरी बनेर आकाशमा उड्न पाए ?’ उनी साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन धुलिखेलको थाक्ले डाँडा पुगेकी थिइन् । डर र साहस मिश्रित भावमा उनले आफुले जिन्दगीकै अनौठो अनुभव गरेको बताइन् । काठमाडौंबाट नजिकै रहेकोले एकपटक मात्र हैन पटक पटक आउने कुरा उनले दोहोर्याइन ।
काठमाडौंको कोटेश्वर बसस्टपबाट ठ्याक्कै ३३ किलोमिटरको दूरी पार गरेपछि धुलिखेलको थाक्लेडाँडा पुगिन्छ । त्यहाँबाट जिवनकै अनौठो अनुभव गर्न पाईन्छ । डोरीमा झुन्डिएर पक्षीझैँ हावामा उड्दा मनमा अनेक प्रकारका भावनाहरु आउँछन् ।
काठमाडौंबाट नजिकै रहेको धुलिखेल उच्चस्तरिय लज/रिसोर्ट, हरियो पर्यवरण, स्वच्छ हावा र पिकनिक गन्तव्यका रुपमा स्थापित छ । उच्च हिम श्रृंखलाहरुको दृश्यावलोकन पनि धुलिखेलले उपलब्ध गराएको अर्को उपहार हो ।
यी सबैको बाबजुद अहिले पर्यटकका लागि अर्को नयाँ प्रडक्ट ‘जिप फ्लाईङ’ ले लोभ्याउने गरेको छ । पछिल्लो समय नेपालमा साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । बञ्जी, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाईडिङ जस्ता साहसिक पर्यटनका प्रडक्टहरु लोकप्रिय छन् । तर यी अधिकांश प्रडक्टहरु उपत्यका नजिकै उपलब्ध छैनन् । यी सबैलाई टक्कर दिन सक्ने नयाँ प्रडक्ट धुलिखेलमा भित्रिएको छ त्यो हो ‘जिप फ्लाईङ’ ।
गीता त एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्ता हजारौं युवायुवती रमाउँदै आकाशमा उडिरहेको देख्न सकिन्छ । समुन्द्र सतहदेखि १ हजार १ सय मिटर उचाइबाट शुरु भएर ‘भर्टिकल ड्रप’ दुई सय ४० फिट हुँदै १२ सय मिटरको उचाईमा पुग्दा भरपुर आनन्दको महशुस गर्ने गरेको जिप लाइनमा सहभागी भएका व्यक्तिहरु बताउँछन् । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसेर चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गरेका संचारकर्मी हरि पौडेलले डोरीमा हुँइकिँदाको मज्जा नै बेग्लै रहेको बताए ।
के हो जिप लाईन
फलामको डोरीमा घिर्नीका माध्यमबाट ‘हार्नेस’ लगाई झुन्डिएर गरिने साहसिक खेल हो, जिप लाइन। विशेष प्रकारको डोरीसहितको फुलबडी हार्नेस, गट्टा र लकिङ डोरीको सहायताले गन्त्व्यसम्म पुग्न मद्दत गर्छ । जिपलाइनमा अमेरिकन र क्यानेडियन प्रविधिको गुणस्तरीय सामग्री प्रयोग गरेकोले कुनै जोखिम नरहने कुरा सञ्चालकले बताउँदै आएका छन् ।
वल्र्ड वाईड एडभेन्चर प्रालिले पर्यटन बर्ष २०२० लाई लक्षित गरी पौने ५ करोडको लागतमा ‘जिप लाइन’ को शुरुवात गरेको हो । तर कोरोनाको कारणले थलिएको जिप लाईन भर्खरै सुचारु हुन थालेको छ । ‘जिप लाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक मान्न सकिन्छ । ‘सुपरम्यान फ्लाइङ’ नेपाली पर्यटकमाझ निकै लोकप्रिय छ ।
अन्य खेलको तुलनामा ‘जिप लाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यसमा सामान्य प्राविधिक त्रुटि भएमा खेलाडीहरुको ज्यान पनि जान सक्छ । तर यसका लागि कम्पनीले बिशेष ध्यान पुर्याएको बताइन्छ । यसका लागि भारतबाट दुईजना दक्ष प्राविधिक ल्याइएका थिए जस्ले डेढ वर्ष नेपालमा बसेर नेपाली कामदारलाई दक्ष बनाएर फर्किएका थिए ।
उनीहरूले जिप लाइनको टप स्टेसनबाट हुत्याएर पठाएका यात्रुलाई खावास्थित बटम स्टेसनमा नेपाली प्राविधिक स्वागत गर्छन् । १ हजार १ सय मिटर लामो दूरी पार गरेको पत्तै पाइँदैन । शहर नजिकै कम्तीमा एक दिन बिताउने गन्तव्य खोजिरहेका साहसिक यात्राका सौखिनका लागि यो जिप लाइन उपयुक्त हुनसक्छ ।
कति लाग्छ शुल्क
क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी तीन खेल रहेकोमा कम्पनीले तीन खेलकै लागि नेपाल, सार्क मुलुक र अन्य मुलुकका गरी भिन्नभिन्नै शुल्क निर्धारण गरेको छ । जसमा क्लासिक खेलका लागि नेपालीलाई २ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, सुपरम्यान खेलका लागि नेपालीलाई ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ४० डलर र अन्य देशका नागरिक ४५ डलर शुल्क तोकिएको कम्पनीले जनाएको छ ।
टेन्डम (जोडी) जिपलाइनमा भने कम्पनीले नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकलाई ६० डलर शुल्क तोकेको छ । यसको अतिरिक्त फोटो र भिडियोका लागि भने सबै देशका नागरिकहरुलाई समान थप ५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
को हुन् सञ्चालक
सिन्धुपाल्चोकका ३५ वर्षीय केदार थापा र काठमाडौंका २७ वर्षीय भूपेश श्रेष्ठले वल्र्डवाइड एड्भेन्चर प्रालि स्थापना गरेर जिप लाइन सञ्चालन गरेका हुन् । शहरबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य खोज्ने क्रममा जिप लाइनमा लगानी गरेको सञ्चालक श्रेष्ठले बताए । जिपलाइनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० देखि २५ जनालाई रोजगारी पाएका छन् । ‘टेकअफ’ र ‘ल्याण्डिङ’ दुवैतर्फ गरी १० जना, यात्रु ‘रिसिभ’ का लागि २ जना र अन्य होटलमा कार्यरत छन् । व्यवसाय फस्टाउँदै गएपछि रोजगारी बढ्ने कम्पनीको दावी छ ।
कोरोना पछिको अवस्था
कोभिड–१९ का कारण करिब ९ महिना बन्द रहेको उक्त जिप लाइनले पछिल्लो समय निकै आक्रामक रुपमा गति लिन थालेको हो । कोभिडपछि दैनिक करिब ३ दर्जन पर्यटकहरु साहसिक खेल जिप लाइन खेल्न धुलिखेल आउने गरेको सञ्चालक वल्र्डवाइड एड्भेन्चर प्रालिले जनाएको छ । सुलभ शुल्कमा स्वदेशी (आन्तरिक) पर्यटकहरुलाई नै प्राथमिकतामा राख्दै जिप लाइन सेवा सञ्चालन गरिएकोमा पछिल्लो समय यसप्रति आकर्षण बढ्न गएको कम्पनीका सिइओ भुपेश श्रेष्ठले बताए ।
हामीले शुरु देखि नै स्वदेशी पर्यटकलाई विशेष मान्यता दियौं, विदेशी भन्दा स्वदेशी पर्यटकलाई बढी मान्यता दिएको हुनाले अहिले स्वदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अहिले कोरोनाको कारणले गर्दा विश्व नै आक्रान्त बनेको छ, हामीले बिदेशी पर्यटकको भर परेको भए हाम्रो योजना चौपट्ट हुने थियो ।’