बलिउड स्टार सलमान खानविरुद्ध राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ ।
यसको सुनुवाईका लागि आज (शनिबार) सलमानलाई जोधपुर कोर्टमा उपस्थित हुनका लागि डाकिएको थियो । तर सलमान भने उपस्थित भएनन् ।
सलमानले आफ्नो वकिलको सहयोगमा अदालतमा हाजिरी माफी पेश गरेका थिए र यसलाई अदालतले स्वीकार गरेको छ । त्यसैले अब यस मुद्दाको आगामी सुनुवाई ६ फेब्रुअरीमा हुनेछ ।
जोधपुर अदालतले सलमानलाई यस विषयमा २०१८ मा ५ वर्षको जेल सजाय सुनाएको थियो, तर त्यसपछि सलमान जमानतमा रिहा भएका थिए । यही सजायविरुद्ध आज अदालतमा सुनुवाई हुने कार्यक्रम रहेको थियो । यसअघि पनि पटक पटक सलमान विभिन्न कारण देखाउँदै अदालतमा उपस्थित भएका छैनन् । यसभन्दा पहिले कोरोना महामारीको कारणले उनी अदालतमा उपस्थित भएका थिएनन् ।
घटना के हो ?
फिल्म ‘हम साथ साथ है’ को सुटिङका लागि राजस्थानको जोधपुर गएको बेला २६ सेप्टेम्बर १९९६ मा उनले प्रतिबन्धित कालो हरिणको सिकार गरेको आरोप लागेको थियो। तर, त्यसको दुई दिनपछि घोडा फारममा अर्को कालो हरिण मारेको आरोप उनीमाथि नै लगाइएको छ।
त्यही वर्ष २ अक्टोबरमा स्थानीय समुदायले सलमानविरुद्ध मुद्दा दर्ता गराएका थिए। दश दिनपछि उनलाई त्यहीँबाट पक्राउ गरिएको थियो भने उनी तुरुन्तै धरौटीमा रिहा भएका थिए। तर, उनको मुद्दा भने चलि नै रहेको थियो। बिहीबार उनलाई जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनायो।
त्यति बेला सलमानसँगै ‘हाम साथ साथ है’ को कालाकारहरु सैफअली खान, सोनाली बेन्द्रे, तब्बु, निलम र दुष्यन्तमाथि पनि मुद्दा चलेको थियो। तर, यसअघि नै सलमान खानबाहेक अन्यलाई निर्दोष रहेको फैसला सुनाइएको थियो।
सलमानले यसअघि यहि मुद्दामा जोधपुर सेन्ट्रल जेलमा आठ दिन जेल बसेका छन्। र, उनले आफूलाइ निर्दोष बताउँदै आएका छन्।
के हो कालो हरिण?
यो मृग प्रजातिको दुर्लभ प्राणी हो। यसको सिकार पूर्ण रुपमा प्रतिबन्ध छ। यो प्रजाति नेपाल, भारत र पाकिस्तानमा पाइन्छ। यसको तौल करिव ३५ देखि ४५ केजी र उचाइ ७४ देखि ८८ सेन्टिमिटरसम्म हुन्छ। यो खुला चौर भएको इलाकामा बस्न मन पराउँछ।
आफ्नो रंग बदल्ने र निकै फूर्तिलो यो प्रजाति नेपालमा बर्दियाको गुलरियामा पाइन्छ। र यहाँ यसको संख्या हाल २०० को हाराहारीमा छ।