आइतबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली मिडियामाथि पनि खनिए । संञ्चारमाध्यम प्रयोग गरेर आफूलाई अध्यक्ष पद छोड्न भनिएको दाबी उनले गरे । उनले सञ्चारमाध्यम प्रयोग गरेर देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको पनि दाबी गरे । उनले भने, ‘अखबारले विशाल जनसभाको फोटो छाप्दैन । सरकार विरोधी जमातको हाइलाइट गरेर फोटो छाप्छ । यो अस्थिरता श्रृजना गर्ने प्रयास हो जसलाई प्रतिनिधिसभा विघटन गरेर रोकिएको छ र ताजा जनादेशमा गएर ताजा जनादेशबाट देशलाई स्थायीत्व र लोकतान्त्रिक विधि र पद्ध्ति अनुसार सुदृढ बनाउने अभ्यासमा लागिएको छ ।’
ओली मिडियामाथि खनिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी बारम्बार मिडियामाथि खनिएका दृष्टान्त छन् । हेरौं केही दृष्टान्त ः
छोयो भने बुरुक्क उफ्रिहाल्ने : १४ असोज २०७७
मिडिया एलायन्सका पदाधिकारीहरूसँग बालुवाटारमा भएको भेटमा मिडियामाथि नै खनिए । ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गरे । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनले बताए । ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने गरेको टिप्पणी गरे । उनले भने, ‘यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’ यसको केही पहिले सम्पादकहरूसँग् भएको भेटको स्मरण गर्दै उनले भने, ‘तपाईहरूले दिनरात गाली गर्दा सहनुपर्छ भनेर सिकाउने । मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ?’
शिष्टता, मर्यादाको पाठ : २८ असोज २०७६
समाचार नलेखेको गुनासो मात्रै होइन ओलीलाई आफूलाई तपाइँ नभनेकोमा पनि पीरलो छ । यस्तै दुःख बिसाएका थिए गत वर्ष प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा । ‘अहिले नेपाली समाज र सामाजिक सन्जाल हेर्यौँ भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ र अर्काको एउटा ‘यू’ भन्ने शब्द लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्छ । ‘पैसावाला, डलरवाला, युरोवालाहरू ‘यू’ ले काम चलाउँछन्, किन काम नचल्ने रु सभ्यता त त्यो रहेछ’ भन्ने भ्रम परेको छ । सानालाई तिमी र ठूलालाई तपाईं भन्ने स्वाभाविकै हो । भाषा, समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, मर्यादा हुन्छ । तर हामी त्यो बिर्सन खोज्दैछौँ ।’ यहाँ मात्रै होइन यही कुरा ३ असारमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गरी बोल्न नदिएपछि सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सञ्चारमाध्यमले प्रयोग गर्ने भाषाबारेयस्तो टिप्पणी गरेका थिए । त्यतिबेला उनको भनाइ थियो, ‘हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो ।’
मनमुटु भएका सम्पादक नै छैनन् : २९ पुस २०७६
ओलीले सरकारका राम्रा कामहरुको समाचार नै नबनेको गुनासो बारम्बार गर्ने गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तै गुनासो पोखेका थिए । उनले भने, ‘राम्रो कामको प्रशंसा गर्ने मनमुटु भएका सम्पादक नै छैनन् । हामीले गरेका त्यस्ता कामहरुको प्रशंशामा लेख्ने पत्रपत्रिका छैन, प्रशारण गर्ने टेलिभिजन छैन । यदि कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, विग्रिन्छस् भन्छन् ।
बाँसुरी बजाएको तस्वीर छाप्ने ? : ५ फागुन २०७६
काठमाडौंमा विजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको तस्वीर दैनिक छाप्ने गरेको बताए । उनले भने, ‘ कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । मैले अहिले कुनै कुनै भनेको छु । कुनैकुनै बिर्सिन्छ, अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काट्छन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छ, यो फोटो नै छाप्दैन । यस्तो गरेर के भयो र (हाँतले बाँसुरी बजाएको इशारा गर्दै) बाँसुरी धुन आएन भन्छ ।’
मैले कुनै कुनै वुद्धिजीवि विकास भएको सहन नसकेर उल्टोउल्टो लेख्छन् भन्यो भने कुनै कुनै चाहिँ छोड्दिन्छन्, अनि सबै बुद्धिजिवीलाई भन्यो भन्छन् ।
मिडियाप्रति ओलीका अनुदार अभिव्यक्ति यी मात्रै होइनन् । यिनलाई प्रतिनिधि अभिव्यक्तिका रुपमा लिन सकिन्छ । उनको प्राय भाषणमा मिडियोप्रतिको आक्रोश, गुनासो वा टिप्पणी रहन्छ ।
समाचार नबनेकै हुन ?
पहिलो कुरा प्रधानमन्त्री ओलीकै अधीनमा ठूला सरकारी मिडिया छन् । गोरखापत्र, रासस, नेपाल टेलिभिजन, रेडियो नेपाल ओलीकै फेवरमा छन् । सरकारका प्रवक्ता सरह काम गरिरहेकै छन् । यिनले ओलीको बखान गरेकै छन् । उखानटुक्का छापेकै छन् । यीबाहेक ओली समर्थित केही पत्रिका र अनलाइन अरिङगाल नै बनेर उत्रिएका छन् ।
मुल धारमा पनि ओलीको राम्रा कामको समाचार नबनेको जस्तो लाग्दैन । केही उदारहण हेर्न सकिन्छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्दा सबै मिडियाले राम्रै कभरेज गरेको स्मरण छ । सीमा विवाद र कालापानीसहितको नक्सा छापिँदा सबै सन्चार माध्यमका मुख्य समाचार यिनै थिए ।
यि बाहेक पनि कालोपत्रे भयो, समाचार बनेकै छ । प्रधानमन्त्रीले पानीजहाज कार्यालय खोले, समाचार आयो । संसद भवनको शिलान्यास भयो, समाचार बन्यो । मुख्यमन्त्रीले चर्पी उदघाटन गरेका समाचारहरु पनि मिडियामा आएकै छन् । तैपनि प्रधानमन्त्री मिडियालाई गाली गर्छन्, किन ?
मिडिया राज्यको चौथो अंग मात्रै होइन स्थायी प्रतिपक्षी हो । यसले आलोचनात्मक दृष्टिकोण राख्छ नै । अरिङगाल बनेर उत्रिन सक्दैन । त्यो पत्रकारिताको धर्म पनि होइन । बास्तवमा ओलीको पछिल्लो कदमको समर्थनमा को को छन् ? औलामा गन्न सकिन्छ ।
केही ओलीका भक्तबाहेक सबै विरोधमा छन् । यसैलाई आलोचनात्मक चेत भएको मिडियाले सही भनेर लेख्न सक्ने कुरा भएन । दुई तिहाइ निकट बहुमतको नेतृत्व गरेका ओलीले के साच्चै जनअपेक्षाअनुसार काम गरे ? जनमत हेरौं र सुनौं ।
कोरोना कालमा सरकार कता अल्झ्यो ? रोगको त्रासमा बाँचेका मजदुरहरुले भोकको त्रासले काठमाडौं छोडे । पैदल हिँडेरै काठमाडौं छाड्ने मजदुरको लस्कर सबैजसो राजमार्गमा देखियो । मिडियामा उनीहरुका विषय छापिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले ती दृष्यलाई थियटरमा मञ्चन भएको कुनै नाटकको प्लटका रुपमा व्याख्या गरे । प्रधानमन्त्रीले सोझै मिडियाले षड्यन्त्र गरेर त्यस्ता दृष्य देखाएको आक्षेप लगाए ।
कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा मिडियाहरुले जनताको आवाज बोल्दा सरकारको विरोधमा पनि आवाज आए । अलपत्र कामदारको तस्बिर देखिए । प्रधानमन्त्री यसैमा रुष्ट भए ।
प्रधानमन्त्री ओलीप्रति जनताले जसरी आशा र विश्वास गरेका थिए, नेपालको आम मिडियाले पनि देश र जनताका लागि केही काम गर्लान् भनेर आशा राखेकै हो । आम चुनावपछि सरकार बनेको पहिलो तीन महिनासम्म मिडिया चुपै लागे । तर समय वित्दै गयो काम देखिएन ।
तर तीन वर्ष हुन लाग्दा देश र जनताको हालत घामजस्तै छर्लङगै छ । संविधानमाथि कू गरेर प्रतिनिधि सभा विघटन गरिएको छ । राष्ट्रिय सभा अधिवेशन चल्नै दिएनन् । ९ दिनमै अन्त्य गरियो ।
प्रधानमन्त्रीले दैनिक सुनाउने टुक्का अझैं पनि छापिएकै छन् । राम्रै काम भयो भनेर के छाुपुन् पत्रिका र अनलाइनले ? के देखाउन् टेलिभिजनले ? के बजाउनु रेडियोले ? प्रधानमन्त्रीज्यू !
सत्तामा बाहिर हुँदा मिडियाको साथ र सत्तामा हुँदा मिडियाप्रति आक्रमक हुनु शासकहरुको चरित्र बन्दै गएको छ । ओलीले पनि यही देखाइरहेका छन् ।