नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्केका छन् ।
पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
सीताको उपचार मुम्बइको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा भइरहेको छ ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।
यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो।