पोखरा- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ ।
हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ ।
हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ ।
यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ ।
भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।
पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । “अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् ।
उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ”, उनले भने ।
कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् ।
विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।
प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए ।