विश्वव्यापी रुपमा फैलिएको कोरोनाले नेपाल पनि आक्रान्त बनेको छ ।
अहिले त झन् कोरोनाको अर्को प्रजाती पनि नेपाल भित्रियो भनेर सर्वसाधारणमा अर्कै खालको त्रास उत्पन्न भएको छ । कोरोनाको महामारीको बिचमा भारतमा बर्ड फ्लु देखिएपछि नेपालमा पनि त्रास सृजना भएको छ ।
भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए ।
‘दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न विशेष निर्देशन भएको छ,’ प्रवक्ता घिमिरेले भने । काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको पनि उनले बताए ।