नेकपा ओली समूहका नेता शंकर पोखरेलले चितवनमा पुगेर पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको उनको दाबी छ ।
सोमबार भरतपुरमा आयोजित ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रचण्डमाथि अलिकति दया लाग्ने बताए । ‘जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्नु हुन्छ’, उनले भने, ‘पहिलो संविधानसभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधानसभामा रोल्पा जाने आँट भएन । सिरहा पुग्नुभयो ।’
उनले अघि भने, ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’
कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको भन्दै उनले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ ।’
नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली सपना देखाउने र सपनाको पछाडि कुद्ने नेता भएको दावी गरे । ओलीकै अगुवाईमा नेपाली भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्ने र संविधान संशोधनमार्फत निशान छाप परिवर्तन गरेपछि पार्टी भित्रैबाट सरकार गिराउने खेल सुरु भएको नेता पोखरेलको दावी छ ।
पार्टी एकता जोगाउन आफू धेरै पटक बुटवल काठमाडौं दौडिएको र नेताहरुको ढोकाढोकामा पुगेर तीन विकल्प दिएको भन्दै उनले भने, ‘भदौ २६ मा फर्कौँ भन्दा उहाँ (प्रचण्ड) मान्नुभएन । महाधिवेशनमा जान पनि तयार हुनुभएन, सदस्यताको विवाद हल गर्न सक्नुभएन, प्रधानमन्त्री नै चाहियो भन्नुभयो । बामेदवलाई बलियो क्षेत्र खाली गराएर उठाउने र चुनावी प्रधानमन्त्री बनाउने भन्दा हाँस्यास्पद भन्नुभयो, सहमतिको कुनै विकल्प बाँकी रहेन ।’
त्यही बेला प्रचण्डले पार्टीमा पेश गरेको प्रस्ताव (उनको शब्दमा आरोप पत्र) नेकपा विभाजनको आधार भएको उनले जिकिर गरे । पोखरेलले संसद विघटनको बचाउ गरे । तत्कालीन संंसदमा नेकपा बाहिरबाट प्रधानमन्त्री बन्ने विकल्प नभएकाले प्रधानमन्त्रीले संसद विघटन गरेको उनको भनाइ छ ।
ओली निकट मुख्यमन्त्री पोखरेलले प्रचण्ड र माधव समूह आगामी चुनावको तयारीमा लागेको दाबी गरे । पहिलो चरणमा राजधानी केन्द्रीत आन्दोलन गरेका प्रचण्ड–माधव समूहले दोस्रो चरणमा निर्वाचन क्षेत्र र वडा केन्द्रीत कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘उहाँहरु चुनावमा जाने तयारीमा हुनुहुुन्छ ।’