पहिलो पटक मन्त्री बनेर गृह जिल्ला धनुषा पुगेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ ।
मङ्गलबार गृह जिल्ला धनुषा पुगेकी मन्त्री महतोलाई जनकपुर विमानस्थलमा नेता कार्यकर्ताहरूले एक सय एक किलोको माला लगाएका हुन् । त्यस्तै मन्त्रीको स्वागतका लागि गाँउगाँउबाट बिहानैदेखि सवारीसाधनमा नेता कार्यकर्ताहरू जनकपुर पुगेका थिए ।
विमानस्थलबाट विगतमा नेकपा एमालेकोको चुनावी गीत घन्काउँदै निस्केको जुलुसमा कार्यकर्ताभन्दा पनि बढी गाडीको लर्को देखिएको थियो ।
नेकपा दुई खेमामा विभाजित भएपछि जुली महतो ओली पक्षको बैठकमा सहभागी भएकी थिइन् र उनका श्रीमान् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षको भेलामा सहभागी भएका थिए । पछि दुवै जना ओली पक्षमा लागेपछि जुलीलाई मन्त्री बनाइएको थियो ।