खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।
पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।
समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ।
डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।
यहाँको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न नेपालबाट मात्रै होइन विश्वकै पर्यटक ओइरिने निश्चित छ ।
खप्तड घुम्न हेलिकप्टरको व्यवस्था
सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।
सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए ।
उनले भने, “कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ ।” घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट रु ३० हजार, डोटीको दिपायलबाट रु १० हजार र झिङ्ग्रानाबाट रु आठ हजारमा खप्तड घुम्न पाइने भएको छ ।
कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउद बताउँछन् ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन् ।