=नेपाली बजारमा बहुराष्ट्रिय कम्पनी क्याटवरीका उत्पादन डेरीमिल्क र यसका चकलेटहरु लोकप्रिय मानिन्छ ।
तर ससाना बालबालिकादेखि सबै उमेरसम्मले मन पराउने डेरीमिल्कको सिल्क बबलमा नामक चकलेट भित्र किरा फेला परेको छ ।
काठमाडौं बत्तिसपुतलीका स्थानीय व्यवसायी सम्राट बुढाथोकीले किनेको क्याटवरी कम्पनीको उत्पादन डेरीमिल्क भित्र किरा भेटेका हुन् । शुक्रबार स्थानीय डिर्पाटमेन्ट स्टोरबाट छोराकालागी किनेर ल्याएको डेरीमिल्कको सिल्क बबल नामक चकलेट भित्र किरा भेटेको बुढाथोकी बताउँछन् ।
क्याटवरी कम्पनीको उत्पादन, सिल्क बबल नामक यस चकलेटको खोलमा उत्पादन मिति सन् २०२० अक्टोबर लेखिएको छ । अर्थात यो चकलेट केवल २ महिनाअघि उत्पादन भएको देखिन्छ । यसको बाहिरी खोल पनि राम्रो छ । तर खोल भित्रको चकलेट भने सडेको छ । त्यति मात्र होइन चकलेटभित्र जिउँदो किरा भेटिएको बुढाथोकी बताउँछन् ।
भिडियो रिपोर्ट हेर्नुहोस्ः
संयोगले किरामा नजर परेको चकलेट खान नपाएका बुढाथोकी उत्पादकले मानिसको स्वास्थ्यको किन ख्याल नगरेको भन्दै आक्रोश पोख्छन् । यस्ता गुणस्तरहीन चकलेट वितरण र उत्पादन गर्नेलाई हदैसम्मको कारबाही हुनु पर्ने उनको माग छ ।
राम्रो खोल अनि खोलमा केवल २ महिनाअघिको उत्पादन मितिका बावजुद चकलेट सडेको हुनु र किरा भेटिनुमा उपभोक्ता अधिकारकर्मी माधव तिम्सिना क्याटवरीको नेपाल वितरकको लापरबाही र सरकारी निकायको साठगाठ र मौनता भएको दाबी गर्छन् ।
नेपालका वितरकले म्याद गुज्रिएका सडेको चकलेटमा पुनः उपभोग्य मिति राखेर बजार पठाएको हुनसक्ने उनको आरोप छ । यसरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने तिम्सिनाको माग छ ।
चकलेटमा किरा भेटेका सम्राट बुढाथोकीले यस बिषयमा टेलिफोन मार्फत खाद्य प्रविधी तथा गुण नियन्त्रक विभागमा जानकारी गराएको र विभागबाट २÷३ दिनमा आएर त्यसबारे बुझ्ने बताएको जानकारी दिए । यता विभागका प्रवक्ता मोहनकृष्ण मर्हजन भने यस प्रकारको लापरबाही गर्ने जो कोहीलाई हदैसम्मको कारबाही गर्ने बताउँछन् ।
यसअघि गत असोजमा पनि क्याटवरीका उत्पादन नेपाल निर्यात गर्दै आएको विशाल ग्रुपमाथि म्याद गुज्रिएको उत्पादनमा नयाँ उपभोग्य मिति राखेर प्याकिङ गर्दै गरेको अवस्थामा ठुलो परीमाणसहित प्रहरीले सामान जफत र व्यक्तिहरु पक्राउ गरेको थियो । यसरी एउटा नाम चलेको राम्रो ब्राण्डका रुपमा स्थापित अमेरिकि उत्पादक क्याटबरीका नेपाली बजार यहाँका वितरकले बिगार्दै गएको देखिन्छ ।
सगरमाथा टिभी