नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको निधन भएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेक संख्या १ हजार ८७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका प्रयोगशालामा ५ हजार ८ सय को नमूना परिक्षण गर्दा ४२१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । तीमध्ये पुरुषको संख्या २४६ र महिलाको संख्या १७५ रहेको छ ।
योसहित कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । जसमध्ये २ लाख ४८ हजार ४९४ जना कोरोना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ६३७ जना भाइरसमुक्त भएका हुन् ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ मा झरेको छ । जसमध्ये गम्भिर अवस्थाका १९९ जनालाई आईसीयू र ३५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
आज काठमाडौं उपत्यकाका तीन जिल्लामा ११० पुरुष र ८७ जना महिला गरी कूल १९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।